दशौँ चरणको अन्तिम खेलमा फ्रेन्ड्स विजयी

मंगलबार, २१ माघ २०७६, २२ : ०२
दशौँ चरणको अन्तिम खेलमा फ्रेन्ड्स विजयी

काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत दशौँ चरणको अन्तिम खेलमा फ्रेन्ड्स क्लब विजयी भएको छ । ललितपुरको सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्सको खेल मैदानमा आज भएको खेलमा फ्रेन्ड्सले न्युरोड टिमलाई २–० गोलले पराजित गरेको हो ।

दुवै टोलीले पहिलो हाफमा गोलरहित बराबरी खेलेका थिए । दोस्रो हाफको ७८ औँ मिनेटमा फ्रेन्ड्सका लागि सञ्जोग महर्जनले पहिलो गोल गर्न सफल भए । उनले साउलो डि अक्विनोको पासमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । खेलको ८० औँ मिनेटमा विदेशी खेलाडी वाग्नर डि कार्मोले फ्रेन्ड्सका लागि दोस्रो गोल गरे ।

कार्मोले प्रहार न्युरोडका गोलरक्षक अजित प्रजापतिलाई लागेर गोलमा परिणत भएको थियो । जितसँगै १४ अङ्कसहित फ्रेन्ड्स लिगको नवौँ स्थानमा उक्लेको छ । न्युरोड  १५ अङ्कका साथ सातौँ स्थानमा छ । लिगको ११औँ चरणका खेल बिहीबारदेखि हुनेछन् । (रासस)

प्रतिक्रिया दिनुहोस