कोटिहोम महायज्ञ अलपत्र पारेर भागेका बालयोगेश्वर महाराज उर्फ विजय भण्डारी नयाँ दिल्लीमा रहेको खुलासा

सूर्यप्रकाश कँडेल

मंगलबार, २१ माघ २०७६, १७ : २५
कोटिहोम महायज्ञ अलपत्र पारेर भागेका बालयोगेश्वर महाराज उर्फ विजय भण्डारी नयाँ दिल्लीमा रहेको खुलासा

चितवन । भरतपुर महानगरपालिका १, नारायणी नदी किनारमा माघ ११ गते कोटिहोम महायज्ञ सुरु गरी दुई दिनपछि कोटिहोम महायज्ञलाई अलपत्र छाडेर बेपत्ता भएका बालयोगेश्वर महाराज उर्फ विजय भण्डारी भारतको राजधानी नयाँ दिल्लीमा लुकेर बसेको थाहा हुन आएको छ ।

समाचार स्रोतका अनुसार महायज्ञको तेस्रो दिन माघ १३ गते सोमबार एकाबिहानै बालयोगेश्वर महाराज उर्फ विजय भण्डारी नारायणगढको लीलाचोकस्थित वासस्थानबाट रातो गाडीमा भारततर्फ प्रस्थान गरेका थिए । उनी नेपालगञ्जको रुपैडिया नाकाबाट भारत छिरेर नयाँ दिल्ली पुगेको स्रोतको दाबी छ ।

बालयोगेश्वर महाराज उर्फ विजय भण्डारी बेपत्ता भएको भोलिपल्ट महायज्ञ आयोजक समितिले प्रमुख वाचक फेरिएको जानकारी गराउने भन्दै महायज्ञस्थलमा पत्रकार सम्मेलनको आयोजना गरेको थियो । पत्रकार सम्मेलनमा आयोजकले केहीबेरपछि प्रमुख वाचक बालयोगेश्वर महाराज उर्फ विजय भण्डारी उपस्थित हुन सक्ने वा दुई दिनभित्र उनले नै पत्रकार सम्मेलन गर्न सक्ने बताइएको थियो ।

त्यस दिन अर्थात् माघ १४ गते मंगलबार आयोजकले बालयोगेश्वर महाराज उर्फ विजय भण्डारीलाई पत्रकार सम्मेलनमा उपस्थित गराउन फोन सम्पर्क गर्दा उनी भारत पुगिसकेको स्रोतको दाबी छ । भारतबाट उनी एक जना महिला कर्मचारीसँग फोन सम्पर्कमा रहेको र ती महिलामार्फत् आयोजकले बालयोगेश्वर महाराज उर्फ विजय भण्डारीसँग कुराकानी गरेको स्रोतले बतायो ।

एकमहिने भनिएको कोटिहोम महायज्ञ एक हप्ता नबित्दै गत शुक्रबारदेखि बन्द भएको छ । कोटिहोम महायज्ञका प्रमुख वाचक एवं डिजाइनर बालयोगेश्वर उर्फ विजय भण्डारीका काला कर्तुतहरु मिडियामा आउन थालेपछि महायज्ञ विवादमा परेको थियो । महायज्ञ आयोजक संस्था भरतपुर २३ स्थित पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मनोज पुडासैनीले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै बालयोगेश्वरले झुठा आश्वासन दिएको कारण महायज्ञ संचालन गर्न असमर्थ रहेको बताएका थिए ।

उधारोमा कारोबार

गतवर्ष पुसमा पार्वतीपुरस्थित भानु माध्यमिक विद्यालयले आयोजना गरेको महायज्ञमा बलयोगेश्वर उर्फ विष्णु प्रपन्नाचार्य उर्फ विजय भण्डारी प्रमुख वाचक थिए । उनले महायज्ञ आयोजक समितिबाट आफ्नो पारिश्रमिक वापत पच्चीस लाख रुपैयाँ लिएका थिए । 

एउटै महायज्ञबाट पच्चीस लाख रुपैयाँ लिएका बलयोगेश्वर उर्फ विष्णु प्रपन्नाचार्य उर्फ विजय भण्डारीले आफ्नो वार्षिक आम्दानी एक लाख रुपैयाँमात्र भएको बताउँदै कर छल्दै आएका थिए । 

बालयोगेश्वर उर्फ विष्णु प्रपन्नाचार्य उर्फ विजय भण्डारीले कर छलेको र उधारोमा कारोबार गरेर व्यवसायीहरुलाई ठगेको विषयमा सफल खबर डट कमले निरन्तर समाचार प्रकाशित गर्दै आएको छ । नारायणगढ र आसपासका अन्य व्यवसायीको गरेर करिब एक करोड २५ लाख रुपैयाँ डुबाएर ठग महाराज भण्डारी फरार छन् ।

प्रतिक्रिया दिनुहोस