अन्ततः बन्द भयो 'ऐतिहासिक' कोटिहोम महायज्ञ

सफल खबरलाई निस्तेज पार्ने धम्की दिने नै पूर्णरुपमा निस्तेज

सूर्यप्रकाश कँडेल

शुक्रबार, १७ माघ २०७६, १७ : ३३
अन्ततः बन्द भयो 'ऐतिहासिक' कोटिहोम महायज्ञ

चितवन । भरतपुर महानगरपालिका १, नारायणी नदी किनारमा माघ ११ गतेदेखि सुरु भएको कोटिहोम महायज्ञ शुक्रबारदेखि बन्द भएको छ । ऐतिहासिक भनिएको एकमहिने कोटिहोम महायज्ञ एक हप्तामै बन्द भएर 'ऐतिहासिक' चाहिँ भएको छ ।

कोटिहोम महायज्ञका प्रमुख वाचक एवं डिजाइनर बालयोगेश्वर उर्फ विजय भण्डारीका काला कर्तुतहरु मिडियामा आउन थालेपछि महायज्ञ विवादमा परेको थियो । महायज्ञ आयोजक संस्था भरतपुर २३ स्थित पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मनोज पुडासैनीले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै बालयोगेश्वरले झुठा आश्वासन दिएको कारण महायज्ञ संचालन गर्न असमर्थ रहेको बताएका छन् ।

पुडासैनी महायज्ञ आयोजक समितिको उपसंयोजक पनि हुन् । उनले जारी गरेको विज्ञप्तिमा आफूहरु महायज्ञको व्यवस्थापन गर्न नसक्ने अवस्थामा पुगेकोले महायज्ञ आयोजक समितिबाट अलग भएको उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, "मन्दिर व्यवस्थापन एवं महायज्ञ आयोजक समितिद्वारा चयन गरिएको मूल समारोह समिति लगायत सम्पूर्ण उपसमितिहरु पनि विघटन गरिएको जानकारी गराउँदछौँ ।"

भण्डारी भूमिगत

गतवर्ष पुसमा पार्वतीपुरस्थित भानु माध्यमिक विद्यालयले आयोजना गरेको महायज्ञमा बलयोगेश्वर उर्फ विष्णु प्रपन्नाचार्य उर्फ विजय भण्डारी प्रमुख वाचक थिए । उनले महायज्ञ आयोजक समितिबाट आफ्नो पारिश्रमिक वापत पच्चीस लाख रुपैयाँ लिएका थिए । 

एउटै महायज्ञबाट पच्चीस लाख रुपैयाँ लिएका बलयोगेश्वर उर्फ विष्णु प्रपन्नाचार्य उर्फ विजय भण्डारीले आफ्नो वार्षिक आम्दानी एक लाख रुपैयाँमात्र भएको बताउँदै कर छल्दै आएका छन् । उनी हाल सम्पर्कविहीन भई भूमिगत भएका छन् ।

बालयोगेश्वर उर्फ विष्णु प्रपन्नाचार्य उर्फ विजय भण्डारीले कर छलेको विषयमा सफल खबर डट कमले समाचार प्रकाशित गरेपछि महायज्ञ आयोजक समितिका महासचिव एवं प्रवक्ता दिलिप न्यौपानेले गत मंगलबार महायज्ञस्थलमा आयोजित पत्रकार सम्मेलनमै सफल खबरलाई पूर्णरुपमा निस्तेज पार्ने धम्की दिएका थिए । उनको धम्कीले सफल खबरको तेज घटेन, तर कोटिहोम महायज्ञ नै अहिले निस्तेज भएको छ ।

चालीस लाखका चेक अलपत्र

महायज्ञको प्रमुख हिस्सा नौतले यज्ञ मण्डप र पण्डाल लगायतका टेण्टको जिम्मा लिएको न्यू संगम टेण्ट हाउसलाई ठग महाराज विजय भण्डारीले विभिन्न मिति राखेर अग्रिम रुपमा दिएको सात थान चेक अलपत्र परेका छन् । चालीस लाख रुपैयाँ बराबरको चेक देखाउँदै टेण्ट हाउसका प्रोप्राइटर कुरेस अहमदले माघ पाँच र दस गतेका दुई वटा चेक भण्डारीको खातामा रकम नभएको कारण साट्न नसकिएको बताए ।

साउण्ड सिस्टमको पैसा नपाएको भन्दै गत बुधबार आरके साउण्डले प्रवचन पण्डालमा लगाइएका साउण्ड सिस्टम हटाएको थियो । ठग महाराजका तस्बिरसहितका सानाठूला प्रचार सामग्री निर्माण गरेको ओम फ्लेक्सले पनि रकम पाएको छैन । नारायणगढ र आसपासका अन्य व्यवसायीको गरेर करिब एक करोड रुपैयाँ डुबाएर ठग महाराज भण्डारी फरार छन् ।

 

प्रतिक्रिया दिनुहोस