राजनितिकको आडमा ठग महाराजको ‘ठगी’

पत्रपत्रिकाबाट

शुक्रबार, १७ माघ २०७६, ०७ : १७
राजनितिकको आडमा ठग महाराजको ‘ठगी’

काठमाडौँ । महायज्ञ उद्‌घाटन गर्न भन्दै गत शुक्रबार चितवन पुगेका उपराष्ट्रपति नन्दबहादुर पुन मुख्य वाचकको विवादित पृष्ठभूमि थाहा पाएर कार्यक्रममा नगई आइतबार काठमाडौं फर्किए । तर यिनै ‘महाराज’ भनिने विजय भण्डारी मुख्य वाचक रहेको महायज्ञमा यसअघि उपराष्ट्रपति विशेष अतिथिको भूमिकामा सहभागी भइसकेका थिए ।

गत वैशाख ३–१३ मा फर्पिङको त्रिभुवन आदर्श आवासीय माविले आयोजना गरेको धनधान्याचल महायज्ञमा उपराष्ट्रपति सहभागी भएका हुन् । त्यतिबेला महाराजले बोलाएर नभई विद्यालयले निमन्त्रणा गरेकाले उनी कार्यक्रममा गएको दाबी स्वकीय सचिव मिलन डाँगीले गरे । उपराष्ट्रपतिले महायज्ञको कार्यक्रम समापन गरेर फर्केकै साँझ ‘महाराज’ लाई प्रहरीले पक्राउ गरेको थियो । ठगी मुद्दामा पक्राउ परेका उनी वैशाख १३ देखि १८ दिनसम्म डिल्लीबजार कारागार बसेका थिए । निस्केपछि पनि उनी विभिन्न धार्मिक कार्यमा सहभागी भइरहे ।

गत भदौ २८ देखि असोज ११ सम्म उनले गुल्मीको रिडीमा महायज्ञ लगाए । शुक्र अस्तको समयमा महायज्ञ लगाउन नहुने भन्दै नेपाल पञ्चांग निर्णायक समितिले गरेको आदेशविपरीत लगाइएको उक्त महायज्ञमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सेनासँगै भण्डारी एउटै मञ्चमा देखिएका थिए ।धार्मिक कार्यमा अमेरिका पठाइदिने भन्दै रकम ठग्ने बेलामा पनि भण्डारीले राजनीतिक दलका विभिन्न नेतासँग खिचिएका तस्बिर देखाउँदै प्रभावमा पार्ने गरेको देखिन्छ ।

भक्तपुर झौखेलका अमृत दाहालले महाराजले तत्कालीन राष्ट्रपति रामवरण यादवसँगै बसेको तस्बिर देखाएर आफ्नो पहुँच देखाएको बताए । उनले भने, ‘ठूल्ठूला नेतासँग संगत छ भन्ने देखाएर हामीलाई फसाए ।’ २०६९ माघमा ‘महाराज’ को कलंकीस्थित आश्रम भनिएको घरमा पुग्दा दलका ठूला नेतासँग बसेको तस्बिर उनले भित्ताभरि टाँगेको देखिन्थ्यो । महाराजको फेसबुकमा समेत राजनीतिक दलका राष्ट्रिय तथा स्थानीय नेतासँग बसेका तस्बिरहरू राखिएको छ ।

सप्तरीको कञ्चनरूप नगरपालिकामा आयोजित धान्याचल महायज्ञमा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सेनालाई उपहार दिँदै गरेको तस्बिर पोस्ट गरिएको छ । गत मंगलबार चितवनको पत्रकार सम्मेलनमा आयोजक समितिका महासचिव तथा प्रवक्ता दिलीप न्यौपानेले महाराजका प्रत्येक यज्ञमा नेताहरूको उपस्थिति रहने गरेको बताउँदै भनेका थिए, ‘त्यसैले पैसाको कारणले, कमाइ धन्दाका कारणले अर्कोलाई उचाल्ने थेचार्ने कुरा नगर्नुस् ।’

महाराजको शरणमा विद्यालय

भरतपुर–२१ पहाररिलोटारस्थित भानु मावि विद्यालय व्यवस्थापन समिति अध्यक्ष हुन्, नेकपाका जिल्लास्तरीय नेता दिलीप न्यौपाने । न्यौपाने हाल नारायणगढको नारायणी नदीकिनारमा यिनै महाराजलाई मुख्य वाचक बनाएर आयोजना गरिएको महायज्ञको महासचिव र प्रवक्ता छन् ।

२०७५ पुस १–११ मा यही स्कुलले गरेको धनधान्याचल महायज्ञमा पनि यिनै ‘महाराज’ मुख्य वाचक थिए । त्यतिबेला विद्यालयसँग ‘महाराज’ कसरी जोडिए ? विद्यालयका प्रधानाध्यापक पूर्णप्रसाद भट्टका अनुसार महाराज आफैंले विद्यालयमा महायज्ञको प्रस्ताव ल्याएका थिए । एक करोडभन्दा थोरै पैसा उठे एक रुपैयाँ पनि नलिने बताउँदै उनले जोडबल गरेपछि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तयार भएका थिए । कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस