नेकपा केन्द्रीय समिति बैठक

केन्द्रीय समिति बैठकदेखि किन डराए ओली ?

सफल खबर संवाददाता

विहीबार, १६ माघ २०७६, ०९ : ०६
केन्द्रीय समिति बैठकदेखि किन डराए ओली ?

काठमाडौं । प्रधानमन्त्री केपी ओली पार्टी केन्द्रीय समिति बैठक देखि डराएका छन् । पार्टी एकताको झण्डै २१ महिना र दुई अध्यक्षमध्येका एक प्रधानमन्त्री ओलीले सरकारको नेतृत्व सम्हालेको झण्डै दुई वर्षपछि बुधबारवाट पार्टी केन्द्रीय समिति बैठक शुरु भएको छ ।

बैठकमा आफुले राखेका कुरा सञ्चारमाध्यममा जस्ताको तस्तै जाओस्, र केन्द्रीय सदस्यले पार्टी बैठकमा गर्ने सम्भावित आलोचनालाई उनले पहिल्यै बैठकको शुरुमै सम्बोधन गर्ने प्रयास गरे । ‘प्रधानमन्त्रीले दुई–दुई घण्टा लगाएर जसरी बैठकको उदघाटन मन्तब्य भन्दै सम्बोधन गर्नुभयो, सम्बोधनका क्रममा जे जस्ता विषयलाई जोड दिएर प्रस्तुत गर्न खोज्नुभयो, उहाँ आफै पार्टी केन्द्रीय समिति बैठक देखि डराउनुभएको प्रष्टै देखियो,’ नेकपाका एक स्थायी समिति सदस्यले सफलखबरसँग भने,–‘आफ्नो प्रतिरक्षाका लागि र सम्भावित आलोचनाबाट विषयलाई विषयान्तर गर्न उहाँ बैठकमा शुरुमै प्रस्तुत गर्न खोज्नुभएको प्रष्टै देखियो ।’

ओलीले बैठकमा आफ्नै सम्बन्धमा आलोचना भएपनि त्यसलाई सच्चाउन सकिने भन्दै नेताहरुको आक्रोशलाई मत्थर बनाउन पनि खोजेका थिए । उपस्थित केन्द्रीय नेताहरुलाई सम्बोधन गर्दै ओलीले भनेका थिए, –‘मेरो सम्बन्धमा कुनै आलोचना छ, सुझाव छ, टिप्पणी छ भने त्यो पनि कुरा गर्न सकिन्छ र त्यसलाई सच्चाउन सकिन्छ,’ ।

नेकपा बैठकमा उदघाटन मन्तब्य दिए लगत्तै हिडेका प्रधानमन्त्री ओली अब बैठकमा सहभागी हुने छैनन् । बैठकमा यति होल्डिङस, एमसिसि, सरकारको काम लगायतका विषयमा केन्द्रीय सदस्यहरुले आफ्नो चर्काे आलोचना गर्ने ठानेपछि ओलीले त्यसको प्रतिरक्षामा सम्भावित आलोचनाको पहिल्यै जवाफ दिन खोजेका हुन् ।  

उनले सरकारले असाधारण उपलब्धी दुई वर्षका बीचमा प्राप्त गरेको विभिन्न सूचांकहरु तथ्य सहित बोकेर प्रस्तुत भएका थिए । विभिन्न डकुमेन्टका फाइलहरु सहित बोकेर केन्द्रीय समिति बैठकमा आएका ओलीले पार्टी बैठक बस्न विलम्व हुनुमा आफुतिर दोष सोझिन सक्ने तर्फ पनि नेताहरुलाई जवाफ दिएका थिए ।

‘प्रधानमन्त्रीका कारण या सरकारका कारण बैठक बस्न विलम्व भएको होइन, कतिपय केन्द्रीय समितिमा ल्याउनु पर्ने विषयमा निर्णय लिन ढिलाई भएको, दुई पार्टीको मिलन गराउन केही समय लिएकोले मात्र विलम्व भएको हो, यसमा प्रधानमन्त्रीको कारण भन्ने छैन,’ ओलीले आफनो आलोचना हुन सक्ने विषयमा पनि पहिल्यै जवाफ फर्काए ।

एमसिसि जसरी पनि पारित गर्नुपर्ने पक्षमा पार्टी बैठकको उदघाटन मन्तब्यकै क्रममा पनि उत्रिएका ओलीले एम्सिसिका बारेमा आफना टिप्पणीहरु दिईरहदा ओलीले विरोधमा रहेका नेताहरु भीम रावल, लिलामणि पोखरेल, देव गुरुङ लगायत नेताहरु तिर पटक पटक हेर्दै बोलिरहेका थिए । पार्टी बैठकमा ओली यस कारण पनि डराएका थिए की उनी अहिले पार्टी समिकरणमा कमजोर देखिएका छन् ।

अध्यक्ष प्रचण्ड , वरिष्ठ नेता माधव नेपालको गठजोड देखेका र आफनो कार्यशैली केन्द्रीय समितिका सदस्यहरुले नरुचाएका राम्रै सँग बुझेका प्रधानमन्त्री ओली सोही कारण पनि केन्द्रीय समिति बैठक देखि डराएको संकेत देखिएको नेकपाका कतिपय नेताहरुको बुझाई छ । ‘उहाँमा अलिकति डर देखियो, त्यही भएर पनि उहाँको प्रस्तुती डर मेटाउने प्रयास थियो,’ अर्का एक नेताले भने । 

बुधबारको केन्द्रीय समिति बैठकमा अध्यक्षद्वयका तर्फवाट कार्यकारी अध्यक्ष प्रचण्डले राजनीतिक प्रस्ताव, महासचिव विष्णु पौडेलले संगठनात्मक र विधान संसोधन प्रस्ताव पेश गरेका छन् । ति प्रस्तावहरुमा नेकपाले पार्टी बैठकमा सहभागी नेताहरुलाई १५ समुह बनाई छलफलका लागि आज समय छुट्याएका छन् ।

त्यसमध्येको ८ वटा समुहलाई राष्ट्रिय सभा गृह, ४ वटा समुहलाई पार्टी कार्यालय धुम्बाराही र ३ वटा समुहलाई पेरिसडाँडास्थित कार्यलयमा छलफलका लागि स्थान तोकिएको छ ।  समुह छलफलको सझुाव र टिप्पणी पछि शुक्रवार (भोली) दिउँसो १ बजेबाट पूनः नेकपा केन्द्रीय समिति बैठक शुरु हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।
 

प्रतिक्रिया दिनुहोस