विवादित कोटिहोम महायज्ञमा फेरिए प्रमुख वाचक : ईश्वर 'इन' बालयोगेश्वर 'आउट'

सफल खबरलाई निस्तेज पार्ने धम्कीविरुद्ध 'एक्सन' लिने तयारीमा पत्रकार महासंघ

सूर्यप्रकाश कँडेल

बुधबार, १५ माघ २०७६, १४ : ३५
विवादित कोटिहोम महायज्ञमा फेरिए प्रमुख वाचक : ईश्वर 'इन' बालयोगेश्वर 'आउट'

चितवन । नारायणी नदी किनारमा माघ ११ गतेदेखि सुरु भएको कोटिहोम महायज्ञ आयोजक समितिले प्रमुख वाचक फेरेको छ । महायज्ञमा प्रमुख वाचकका रुपमा युवा पण्डित ईश्वर रेग्मी इन र बालयोगेश्वर महाराज उर्फ विजय भण्डारी आउट भएका छन् ।

धर्मको आवरणमा भक्तजनलाई ठग्न पल्केका कथित बालयोगेश्वरका बारेमा सफल खबर डट कम र कान्तिपुर दैनिकमा निरन्तर समाचार आएपछि महायज्ञको पहिलो र दोस्रो दिन प्रमुख वाचक रहेका भण्डारी त्यसपछिका दिनमा देखा परेका छैनन् । मिडियाको सम्पर्कमा आउन नचाहेका भण्डारी भूमिगत छन् । 

धर्मको आवरणमा लुट धन्दा चलाएका भण्डारीले गरेको करछलीका बारेमा समाचार प्रकाशित भएपछि सफल खबरलाई निस्तेज पारिदिने धम्की महायज्ञ आयोजक समितिका तर्फबाट प्रवक्ता दिलिप न्यौपानेले गरेपछि नेपाल पत्रकार महासंघले उक्त धम्कीविरुद्ध एक्सन लिने तयारी गरेको छ ।

कोटिहोम महायज्ञका प्रमुख वाचक एवं डिजाइनर बालयोगेश्वर उर्फ विजय भण्डारीका काला कर्तुतहरु मिडियामा आउन थालेपछि कोटिहोम महायज्ञ आयोजक समितिले भण्डारीलाई प्रमुख वाचकबाट हटाएपनि उनीसँगको कनेक्सन यथावत राखेको छ । बाहिर देखा नपरेका भण्डारी भित्रीरुपमा आयोजक समितिको सम्पर्कमै छन् । भण्डारीलाई महायज्ञ आयोजकले अलग गरिसकेको छैन । उनको बारेमा मिडियामा आएका कुराहरुको छानबिन गर्न उनलाई प्रमुख वाचकको व्यासमा नराखिएको आयोजकको भनाइ छ ।

महायज्ञ निल्नु न ओकल्नुको अवस्थामा

कोटिहोम महायज्ञ आयोजक संस्था भरतपुर २३ स्थित पशुपति मन्दिर व्यवस्थापन समितिलाई यो महायज्ञ निल्नु न ओकल्नु भएको छ । महायज्ञ आयोजक मूल समितिका संयोजक लालबहादुर दवाडीले आफू पुस २६ गते समिति गठन भएपछिमात्र संयोजक भएको भन्दै पत्रकारसामु त्यसअघिका कारोबारको जिम्मा नलिने बताएका छन् । यतिमात्र नभई संयोजक दवाडीले आफू आर्थिक कारोबार नहेर्ने शर्तमा महायज्ञको संयोजक भएको समेत दाबी गरेका छन् ।

महायज्ञ आयोजक समितिकी उपसंयोजक दिव्या शर्मा र सल्लाहकार संयोजक नारायण आचार्यले आफूहरु समितिमा नरहेको सार्वजनिक रुपमा बताएका छन् । प्रमुख वाचक नै फेरिने, समितिका पदाधिकारीले नै समिति छाड्ने र मूल संयोजकले नै आर्थिक जिम्मेवार लिन नसक्ने अभिव्यक्ति दिएपछि महायज्ञमा भएको खर्च कसले दिने भन्ने प्रश्न उठ्न थालेको छ ।

पारिश्रमिक नपाउने आशंका

महायज्ञमा साँस्कृतिक कार्यक्रम देखाउन आएका कलाकार र वेदपाठका लागि वृन्दावनदेखि आएका बटुकहरु तोकिएको पारिश्रमिक नपाइने हो कि भन्ने आशंकामा छन् । अघिल्लो हप्ता वृन्दावनबाट ३५ जनाको टोली कोटिहोम महायज्ञमा वेद पाठका लागि आएका थिए । उनीहरुलाई एक महिनाको पारिश्रमिक ३० हजार र बाटोखर्च पाँच हजार दिने शर्तमा चितवन बोलाइएको थियो । जनही ३५ हजार रुपैयाँका दरले ३५ जनालाई कूल १२ लाख २५ हजार रुपैयाँ दिनु पर्ने हुन्छ । एक बटुकले भने, आयोजकहरु आफैमा झगडा गर्न थाले । महायज्ञको र हाम्रो अब के गति हुने हो ?

महायज्ञमा १६ जना कलाकारको टोलीलाई नेतृत्व गरेर आएकी उमा बानियाँले पत्रकारहरुको अगाडि आफूहरुले पारिश्रमिककै लागि काम गर्ने बताउँदै पारिश्रमिक नपाए कसले जिम्मा लिन्छ भन्ने प्रश्न गरिन् । म त कलाकार हो, पैसा लिएर काम गर्छु उनले भनिन्, मैले २० देखि २५ हजार डिमाण्ड गर्छु । मैलेभन्दा धेरै डिमाण्ड गर्ने कलाकारहरु पनि हुनुहुन्छ ।

२५ लाखको हिसाब खोई ?

गतवर्ष पुसमा पार्वतीपुरस्थित भानु माध्यमिक विद्यालयले आयोजना गरेको महायज्ञमा बलयोगेश्वर उर्फ विष्णु प्रपन्नाचार्य उर्फ विजय भण्डारी प्रमुख वाचक थिए । उनले महायज्ञ आयोजक समितिबाट पच्चीस लाख रुपैयाँ लिएका थिए ।

एउटै महायज्ञबाट पच्चीस लाख रुपैयाँ लिएका बलयोगेश्वर उर्फ विष्णु प्रपन्नाचार्य उर्फ विजय भण्डारीले आफ्नो वार्षिक आम्दानी एक लाख रुपैयाँमात्र भएको बताउँदै कर छल्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस