ढुँगेल पक्राउ विस्तृत शान्ति सम्झौता विपरित’

बुधबार, १५ कार्तिक २०७४, ०७ : ०४
ढुँगेल पक्राउ विस्तृत शान्ति सम्झौता विपरित’


काठमाडौं । नेकपा माओवादी केन्द्रका पोलिट्व्युरो सदस्य, निवर्तमान सांसद एवं वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले बालकृष्ण ढुँगेल पक्राउ प्रकरण विस्तृत शान्ति सम्झौता, १२ बुँदे सम्झौताको प्रतिकुलमा रहेको स्पष्ट पारेका छन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले उक्त प्रकरण मेलमिलाप आयोगबाट टुँगो लगाउनुपर्ने थियो भन्दै ढुँगेल पक्राउ शान्ति प्रक्रियासम्बन्धी सबै खाले सम्झौताको प्रतिकुलमा रहेको बताए ।

उनले भने,‘ढुुँगेलजीको मात्रै होईन, फुजेल काण्ड र चितवनको माडी घटना सबै घटनाहरु एउटै खाले हुन्, मध्यकालिन युद्धको बेला भएको घट्ना हो, यी घट्नाहरुलाई अर्थात शान्ति सम्झौतालाई निश्कर्षमा पुर्याउनकोलागि नै मेलमिलाप आयोगमार्फत टुँगो लगाउने भनिएको हो।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले अदालतले फैसला कार्यान्वयनको लागि निर्देशन दिएपछि सरकारले मेलमिलापमार्फत यो घट्ना टुँगो लगाएको भए पीडितले पनि न्याय पाउने बताए । उनले भने,‘पीडितलाई न्याय हुन्थ्यो, यो घट्नालाई दुई तरिकाले समाधान गर्न सकिन्थ्यो एउटा क्याबिनेटबाट निर्णय गराएर क्षमादान दिने र अर्को, राष्ट्रपतिबाट।’

त्यस्तै उनले आजमात्रै सार्वजनिक भएको नेपाली कांग्रेसको घोषणापत्रबारे प्रतिक्रिया दिँदै भने,‘कांग्रेसले अरुलाई भ्रष्टाचार पार्टी देखेछ, तर आफ्ना नेताहरु अदालतबाट अपराधी घोषित भएर जेल सजाए पाएका छन्, सजाय भागेका मान्छेहरु नै चुनाव लड्दैछन्, ती नेताहरु बस्ने पार्टी नेपाली कांग्रेस।’

विडारीले कांग्रेसको घोषणापत्रमा माओवादीलाई अवसरवादी भनिएकोप्रति पनि आपत्ति जनाए । उनले भने,‘हाम्रो पार्टीलाई कांग्रेसले अवसरवादी देख्यो, हो हामी कहिले एमालेतिर कहिले कांग्रेसतिर नजिक भयौं, तर मुलुकमा समावेशीता, संघीयता, गणतन्त्र नमान्नेहरुलाई मनाउनको लागि कहिले एमालेसँग नजिक भयौं, कहिले कांग्रेससँग नजिक भयौं, हामी यसरी दुवै शक्तिलाई नमिलाएको भए संविधान जारी हुँदैनथ्यो।’

त्यस्तै उनले कांग्रेसले विकास निर्माण चाहीँ आफ्नो पार्टीमात्रै गर्छु भन्नुपनि हाँस्यस्पद भएको टिप्पणी गरे । उनले भने,‘कांग्रेसका नेताका नाममा रहेक मार्गहरु हेर्नुहोस् त हालत कस्तो छ ? फाष्ट ट्रयाक बनाउँछु भनेको कहिलेदेखि हो ? बन्यो त ? विकास निर्माणमा कांग्रेस असफल भएको छ।’

नेता विडारीले एमाले–माओवादी केन्द्रवीच बनेको गठबन्धनलाई कतिपयले वाम गठबन्धन भन्ने गरेपनि यसलाई आफूले प्रगतिशील लोकतान्त्रिक गठबन्धन भन्न रुचाएको बताए ।

उनले थपे,‘कम्युनिष्ट झण्डा र नाम भएकाहरुवीच कम्युनिष्ट केन्द्र बनाउनुपर्छ, तर दुवै पार्टीका एमालेका गैर कम्युनिष्टहरु र माओवादीभित्रका उग्र स्वभावका नेताहरुलाई सच्याउनुपर्छ।’

निर्वाचन समयमै सम्पन्न गर्नको लागि आफूहरुको पूर्ण समर्थन रहेको बताउँदै प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनको बेला मन्त्रीहरु थपेर गलत काम गरेको गुनासो पोखे ।

 

प्रतिक्रिया दिनुहोस