विश्वविद्यालयको पदीय भागवण्डामा सत्ता र प्रतिपक्षको अड्को

सुदुरपश्चिम विश्वविद्यालयको उपकुलपति नै किन चाहियो काँग्रेस सभापति शेरबहादुर देउवालाई ?

सफल खबर संवाददाता

आइतबार, १२ माघ २०७६, ०९ : ०३
विश्वविद्यालयको पदीय भागवण्डामा सत्ता र प्रतिपक्षको अड्को

काठमाडौं । लामो समय देखि उपकुलपति नहुँदा ६ ओटा विश्वविद्यालय नेतृत्व विहिन छ । प्रधानमन्त्री ओली योग्यता र क्षमताका आधारमा उपकुलपति नियुक्तिका नाममा आफ्नै तिर मात्र ध्यान दिईरहेका छन भने काँग्रेस भागवन्डा खोजिरहेको छ ।

त्यही काँग्रेसको अड्कोका कारण विश्वविद्यालयमा उपकुलपति नियुक्ति रोकिएको रोकियै छ । सम्वैधानिक परिषद सदस्य समेत रहने प्रमुख प्रतिपक्षी दलका नेता सभापति शेरबहादुर देउवाले आफनो अडान नछोडेका कारण विद्यवविद्यालयमा उपकुलपति नियुक्ति प्रक्रिया अल्झिएको अल्झियै भएको हो । अहिले पूर्वाञ्चल, पोखरा, कृषि तथा वन, सुदुरपश्चिमाञ्चल, मध्यपश्चिमाञ्चल र नेपाल संस्कृति विश्वविद्यालयमा उपकुलपति छैनन् ।

त्यस अतिरिक्त नेपाल संस्कृत र पूर्वाञ्चल विश्वविद्यालयमा शिक्षाध्यक्ष पद पनि ६ महिनादेखि रिक्त छ । आफु अनुकुलका विश्वविद्यालयको उपकुलपति बनाउने दाउमा प्रधानमन्त्री ओली, नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड र काँग्रेस सभापति शेरबहादुर देउवा छन् । देउवाका लागि सुदुरपश्चिमाञ्चल विश्वविद्यालयको उपकुलपति जसरी पनि चाहिएको छ । उनलाई त्यहाँ उपकुलपति दिन प्रधानमन्त्री ओली तयार छैनन् ।

लामोसमय रिक्त उपकुलपति नियुक्तिका लागि प्रधानमन्त्रीले शनिबार देउवा र प्रच्ण्डसँग छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले सत्य निरुपण र बेपत्ता छानविन आयोग पदाधिकारी नियुक्तिमा सत्ता र प्रतिपक्षका बीचमा बनेको समझदारी सम्झाउँदै अन्यमा पनि अब नियुक्ति प्रक्रिया अल्झाउन नहुने पक्षमा आफु रहेकोले छलफलका लागि निम्ताईएको जानकारी बैठकको शुरुमै दिएका थिए ।

‘अब पनि लिङगरिङ गरिरहनु उपयुक्त हुदैन, नियुक्ति भटभट गरेर जाने सोच सरकारको हो, यसमा छलफलका लागि बोलाईएको हो,’ प्रधानमन्त्रीले काँग्रेस सभापति देउवातिर हेर्दै आफ्ना भनाई राखे । देउवाले कुन विश्वविद्यालयमा कसलाई कसरी नियुक्तिका विषयमा सोच राख्नु भएको छ, पहिले तपाईको धारणा सुनौं भन्ने मत राखेको बैठकमा सहभागी एक नेताले बताए । 

‘योग्यता, क्षमता त्यही त हो, विश्वविद्यायका उपकुलपति नियुक्तिका आधार’ ओलीले देउवातिर हेर्दै भने, –‘विश्वविद्यालयमा नियुक्ति भागवन्डाका आधारमा यो काँग्रेस, यो नेकपा भन्ने आधारमा हुदैंन् ।’ प्रधानमन्त्री ओलीको त्यस्तो अभिब्यक्ति पछि देउवाले थपे, – हाम्रा पनि त केही कुरा होलान्, भागवन्डा नगर्ने भन्ने जँहा पनि झापाकै मान्छे राख्ने तपाईको सोच हो की के त ?

उनले सवै नियुक्तिमा झापाका मान्छे राख्ने गरिएको र त्यसमा पनि आफुनिकटलाई नै भन्ने नेकपा भित्रकै गुनासोलाई बैठकमा ब्यङग्य गर्दै राखे । त्यसपछि प्रधानमन्त्री पनि देउवातिर निसाना सोभ्mयाउन लागिपरे । ‘सुदुरपश्चिम विश्वविद्यालयको उपकुलपति तपाईलाई चाहिएको होला हैन, त्यहाँ त तपाईको भनेको मान्छे आउने म देख्दै देख्दिन’ प्रधानमन्त्रीले देउवालाई भनेको भनाई उदधृत गर्दै एक सहभागी नेताले भने ।

प्रचण्डले भने संक्रमणकालिन न्यायको जटिल विषयमा सत्ता र प्रतिपक्ष सहमतिमा पुगेको उदाहरण दिदैं अब राजनीति सहमतिका आधारमा अगाडी बढाउनु पर्ने धारणा राखे । ‘कतिपय विषयमा सत्ता प्रतिपक्ष नमिलि कुरै छैन, मिलेरै अगाडी बढ्ने हो, भागवन्डा भन्दा पनि योग्यता तिर नै जानु राम्रो हुन्छ,’ प्रचण्डको भनाई थियो ।

सत्य निरुपण र बेपत्तामा काँग्रेस नेकपा बीच ५–५ पदाधिकारी भागवन्डा गरिएको थियो । ‘भागवन्डा कँहा कँहा गरिनुथियो, गरियो, अब सहमतिवाट जानुपर्छ, भागवन्डाको अल्झोमा बस्नु राम्रो होइन, ’ देउवालाई ओलीको भनाई थियो । 

काँग्रेसले सुदुरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा आफुले चाहिरहेको छ । काँग्रेस ६ विश्वविद्यालयमा ४, २ भागवन्डा लगाउनु पर्ने र त्यसमा सुदुरपश्चिम अनिवार्य र अर्काे एउटा विश्वविद्यालयको नियुक्ति आफुले पाउनुपर्ने पक्षमा छ । तर प्रधानमन्त्री ओली सकभर नदिने, दिनै परेपनि सुदुरपश्चिम नदिने अडानमा छन् ।

देउवालाई भने आफनो गृहजिल्ला डडेलधुरा भएकोले पनि सुदुरपश्चिम विश्वविद्यालयको नेतृत्व जसरी पनि आफुलाई चाहिएको छ । बालुवाटारमा झण्डै डेढ घण्टा चलेको सत्ता प्रतिपक्ष छलफल भागवन्डाकै विवादमा अल्झिएपछि कुनै निश्र्कष बिना नै टुंगिएको छ । काँग्रेस नेता रमेश लेखकले सामान्य समसामायिक राजनीतिका विषयमा मात्र प्रधानमन्त्री र नेकपा अध्यक्ष प्रचण्डसँग छलफल भएको बताए ।

‘सामान्य छलफल हो, सत्ता प्रतिपक्षका बीचमा विश्वासको वातावरण कसरी बनाउने भन्ने मात्र ।’ बैठकमा सहभागी काँग्रेस नेता लेखकले भने । तर नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले भने विश्वविद्यालयका रिक्त उपकुलपति लगायत नियुक्तिका विषयमा सत्ता प्रतिपक्षका बीचमा सम्वाद भएको बताए । उनले टिआरसी र बेपत्तामा सहमति भएकोले अन्य विषयमा पनि सहमतिको खोजीका लागि प्रधानमन्त्रीले पहल थालेको बताए ।

‘सत्ता र प्रतिपक्षका वीचमा सम्वादको वातावरण बनाउने, विश्वासको वातावरण निर्माण गर्ने र आपसी सहकार्यका साथ सबै विषयमा अगाडी बढ्ने प्रयासका लागि गरिएको नियमति छलफल हो,’ नेम्वाङले भने, –‘आगामी दिनमा पनि यस्ता छलफल निरन्तर गर्ने गरि समझदारी निर्माण भएको छ, यो छलफलको सुरुआत हो, थप छलफलहरु अब निरन्तर भईरहन्छन् ।’