कोटिहोम महायज्ञको उद्घाटन उपराष्ट्रपति पुनबाट

सफल खबर संवाददाता

विहीबार, ०९ माघ २०७६, १८ : ११
कोटिहोम महायज्ञको उद्घाटन उपराष्ट्रपति पुनबाट

चितवन । शनिबारदेखि एक महिनासम्म नारायणी नदी किनारमा सञ्चालन हुने कोटिहोम महायज्ञको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गर्नु हुने भएको छ । बिहीबार महायज्ञस्थल नारायणी नदी किनारमा पत्रकार सम्मेलनको आयोजना गरी कोटिहोम महायज्ञको उद्घाटन उपराष्ट्रपति पुनबाट हुने जानकारी दिइएको हो ।

महायज्ञको तयारी ९५ प्रतिशत सकिएको र बाँकी ५ प्रतिशतका लागि काम धमाधम भइरहेको महायज्ञका प्रमुख वाचक बालयोगेश्वर महाराजले बताउनु भयो ।  नेपालको इतिहासमा नै पहिलो पटक नारायणगढको नारायणी नदी किनारमा १०८ कुण्डीय कोटिहोम गर्न लागिएको र महायज्ञका लागि १०८ पण्डितहरु समेत आइसकेको उहाँले बताउनु भयो । 

प्रमुख वाचक बालयोगेश्वरले आफूहरुले सबै नियम, विधि र प्रक्रिया पूरा गरी महायज्ञ संचालन गर्न लागेको बताउनु भयो । उहाँले महायज्ञको आम्दानी र खर्च पारदर्शी गरिने, कर तिर्नु पर्ने कारोबारमा कर तिर्ने र व्यक्तिगत रुपमा आफूले पनि कर तिर्नु पर्ने देखिएमा आफू कर तिर्न तयार रहेको बताउनु भयो । उहाँले आफूले कर छली गरेको प्रमाणित भएमा सजाय भोग्न तयार रहेको समेत बताउनु भयो ।

महायज्ञमा दैनिक पाँच हजारभन्दा बढी भक्तजनहरु आउने अपेक्षासहित तयारीको काम अगाडि बढाइएको छ । महायज्ञमा आउने भक्तजनहरुका लागि खाना तथा नास्ताका साथै दैनिक एक हजार जनालाई बासको समेत व्यवस्था गरिएको बालयोगेश्वरले बताउनु भयो । फागुन ११ गतेसम्म सञ्चालन हुने महायज्ञमा हरेक दिन र रात एक÷एक जना प्रमुख अतिथि तथा पाँच÷पाँच जना विशिष्ट अतिथि रहने छन् । 

एक महिनासम्म सञ्चालन हुने ‘१०८ कुण्डीय कोटिहोम शैक्षिक, धार्मिक तथा सांस्कृतिक तुलादान, माघी मेला महामहोत्सव एवम् सङ्गीतमय लीलामय १०८ श्रीमद्भावत धनधान्याचल पितृमोक्ष बिराट मासिक ज्ञान महायज्ञ २०७६’ मा १०८ पण्डितद्वारा १०८ हवन कुण्डमा हवनसहित कथा वाचन हुनेछ । 

चितवनमा आयुर्वेदिक शिक्षालय स्थापना, क्यान्सर रोगबाट पीडित विपन्न परिवारलाई सहयोग तथा जगतपुरको १२ बिघा क्षेत्रफलमा रहेको पशुपति मन्दिरलाई वृहत धामको रुपमा विकास गर्ने उद्देश्यले धार्मिक महोत्सवको आयोजना गर्न लागिएको हो । विराट मासिक ज्ञान महायज्ञमा २५ करोड रुपैयाँ आर्थिक सङ्कलन गर्ने लक्ष्य रहेको छ भने महायज्ञ सफल पार्नका लागि करिब पाँच करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस