लामा टोलमा सोनाम ल्होछारको तयारी

सफल खबर संवाददाता

विहीबार, ०९ माघ २०७६, १७ : ४१
लामा टोलमा सोनाम ल्होछारको तयारी

चितवन । भरतपुर महानगरपालिका वडा नम्बर ११ लामा टोलमा रहेको विश्व पञ्चशील शान्ति बुद्ध गुम्बा यतिबेला सोनाम ल्होछार (नयाँ वर्ष) को स्वागतको तयारीमा जुटेको छ । शान्ति बुद्ध गुम्बाले बिहीबार पत्रकार सम्मेलन गरी माघ ११ गते शनिबार परेको सोनाम ल्होछारमा शुभकामना आदानप्रदान र विविध साँस्कृतिक कार्यक्रम गर्ने जानकारी दिएको छ ।

गुम्बा परिसरमा साँस्कृतिक कार्यक्रम, खेलकुद र पूजापाठको आयोजना गर्न लागिएको गुम्बाकी अध्यक्ष एवं कार्यक्रम संयोजक शिवकुमारी लामाले जानकारी दिइन् । गुम्बामा आवद्ध दुई सय ५० घरधुरीबाट स्वेच्छिक चन्दा संकलन गरी कार्यक्रम सम्पन्न गरिने उनले बताइन् । यसपटकको ल्होछार सम्पन्न गर्न दस वटा उपसमिति गठन गरिएको उनले जानकारी दिइन् ।

२८५६ औँ मञ्जुश्री सम्वतको पहिलो दिन जीवा ल्हो मुसा वर्गलाई स्वागत गर्दै फग ल्हो बँदेल वर्गको बिदाई गरी धुमधामका साथ नयाँ वर्ष मनाउने तयारीस्वरुप विशेष साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको गुम्बा समितिकी अध्यक्ष लामाले बताइन् ।

बागमती प्रदेशसभा सदस्य मिलनबाबु श्रेष्ठले प्रमुख अतिथिका रुपमा सोनाम ल्होछार कार्यक्रमको उद्घाटन गर्ने छन् । साँस्कृतिक कार्यक्रममा लोकदोहोरी गायकहरु टिका सानु, मानसिंह खड्का तथा स्थानीय कलाकारको बेजोड प्रस्तुति रहने बताइएको छ ।

शान्ति बुद्ध गुम्बा २०६४ सालमा स्थानीय आमा समूहका सदस्यहरुले थोरै थोरै रकम संकलन गरी निर्माण गरेको गुम्बाकी संस्थापक अध्यक्ष लालमति लामाले बताइन् । स्थापनाकालदेखि हालसम्म गुम्बामा महिलाहरुले नै नेतृत्व गर्दै आएका छन् । 

प्रतिक्रिया दिनुहोस