सोनाम ल्होछारको तयारीमा जुटे तामाङ समुदाय

सफल खबर संवाददाता

सोमबार, ०६ माघ २०७६, १८ : ०२
सोनाम ल्होछारको तयारीमा जुटे तामाङ समुदाय

चितवन । भरतपुर महानगरपालिकाको विभिन्न क्षेत्रमा रहेका तामाङ समुदाय यतिबेला सोनाम ल्होछार (नयाँ वर्ष) को स्वागतको तयारीमा जुटेका छन् । भरतपुर नगर तामाङ समाजले माघ ११ गते शनिबार परेको सोनाम ल्होछारमा शुभकामना आदानप्रदान र विविध साँस्कृतिक कार्यक्रम गर्ने भएको छ ।

तामाङ समाजले सोमबार भरतपुर महानगरपालिका वडा नम्बर ११ स्थित छेच्यु थर्पलिङ गुम्बामा पत्रकार सम्मेलनको आयोजना गरी सोनाम ल्होछारको तयारीबारे जानकारी गराएको हो । यही गुम्बा परिसरमा साँस्कृति कार्यक्रम, खेलकुद र पूजापाठको आयोजना गर्न लागिएको समाजका अध्यक्ष एवं कार्यक्रम संयोजक गंगालाल तामाङले जानकारी दिए । सोनाम ल्होछार सम्पन्न गर्न तीन लाख रुपैयाँ खर्च अनुमान गरिएको र यसको जोहो दुई सय ७० घरधुरीका तामाङबाट स्वेच्छिक चन्दा संकलनबाट गरिने उनले बताए ।

भरतपुरका तामाङ समुदायले एक दशकदेखि सोनाम ल्होछार हर्षोल्लासपूर्वक मनाउँदै आएका छन् । यसपटकको ल्होछार सम्पन्न गर्न दस वटा उपसमिति गठन गरिएको छ । अहिले एघारौँ पटक सोनाम ल्होछार मनाउन लागेको प्रचारप्रसार उपसमिति संयोजक सूर्यप्रकाश लामाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस