नेपाली खेलाडीलाई जापानमा किक बक्सिङको उपाधि

सफल खबर संवाददाता

सोमबार, ०६ माघ २०७६, १२ : ५७
नेपाली खेलाडीलाई जापानमा किक बक्सिङको उपाधि

टोकियो । नेपाली किक बक्सिङ खेलाडी अबिरल घिमिरेले जापानमा उपाधि जितेका छन् । टोकियोमा आईतबार भएको हिट ४६ किक बक्सिङको टाइटल उनले जित्न सफल भएका छन्।

टोकियोमा भएको भिडन्तमा जापानी च्याम्पियनलाई पहिलो राउण्डमै मुक्का प्रहार गरी मैदानमा ढालेर २१ वर्षीय अविरलले हिट ४६ किक बक्सिङको टाइटल उपाधि जितेका हुन्।

पछिल्लो समय किक बक्सिंगमा निरन्तर जित हात पार्दै आएका अविरल जापानमा हिमालयन चितुवाको नामले परिचित छन्। जापानको नागोया शहरमा रहेर किक बक्सिङका व्यवसायिक खेल खेल्दै आएका अबिरल जापानमा नेपालको प्रतिनिधित्व गर्दै खेल्ने गर्दछन्।

आफुले जितेका प्रतिस्पर्धा मध्येकै ठूलो जित हात पारेका अबिरलले खेलको रिंग भित्रबाटै उपस्थित सयौं जापानी नागरिकहरूलाइ नेपाल भ्रमणको निम्तो दिदै नेपाल भ्रमण वर्ष २०२० को प्रचार समेत गरे। अविरलले जापानवासी नेपालीहरुबाट पाएको साथ र सहयोगबाटै खेल जित्न सकेको भन्दै उपस्थित सबैलाई धन्यवाद व्यक्त गरेका थिए। 

उनको हौसला बढाउन जापानबासी नेपालीहरु नेपाली झण्डा सहित हलमा उपस्थित भएका थिए।

प्रतिक्रिया दिनुहोस