नारायणी पुल सडकको बत्ति बिग्रिएको ६ महिना बित्यो, रात्रिकालीन पैदलयात्रु जोखिममा हिड्न बाध्य

उर्गेन तामाङ

आइतबार, ०५ माघ २०७६, ०९ : ०५
नारायणी पुल सडकको बत्ति बिग्रिएको ६ महिना बित्यो, रात्रिकालीन पैदलयात्रु जोखिममा हिड्न बाध्य

चितवन । नेपालकै मध्यभागमा रहेको चितवन र नवलपुरलाई नारायणी नदिले छुट्याएको छ । तर नदिमाथी बनेको पक्की पुलले यी दुई जिल्लालाई मात्रै नभई पुर्व–पश्चिमलाई नै जोडेको छ ।  २०३८ सालमा पक्की पुल बनेपछि पुर्वपश्चिम राजमार्ग हुँदै दैनिक देशैभरका हजारौँ यात्रुहरु सहज रुपमा आवतजावत गर्छन् ।

तर यो पुलको रेखदेख र व्यवस्थापन राम्ररी हुन नसक्दा सर्वसाधारण मारमा पर्ने गरेका छन् । पुलमाथी बत्ती नबलेको महिनौ बितिसकेको छ । लामो समयदेखि पुलमाथीको बत्ति नबल्दा रातिको समयमा हिड्न धेरै समस्या परिरहेको सर्वसाधारणले गुनासो गरेका छन । ४ सय २० मिटर लामो यस पुलले चितवनको मुख्य बजार नारायणगढ र छिमेकी जिल्ला नवलपुरको गैडाकोटलाई जोडेको छ । यो पुलमाथी बत्ती नबल्दा रात्रिकालीन यात्रुलाई समस्या परेको छ । 

नारायणी पुलमाथी १६ वटा विजुलीको पोल रहेको छ । ति सबै पोलमा बत्ती नबलेको ६ महिना भन्दा धेरै भईसकेको छ । कुनै पोलको बत्ती फुटेको छ, कुनै जलेको, कुनै पोलमा बत्तीनै छैन भने कुनै भाँच्चीएको अवस्थामा छन् । सर्वसाधारण रातिको समयमा जोखिम मोलेर वारपार गर्नुपर्ने बाध्यता छ । रातिको समयमा एकातर्फ ठुला गाडीको आँखै विगार्ने हेडलाईट अर्कोतर्फ अध्याँरो पुलको छेउछेउ सुमसुमाउदै हिड्न रात्रिकालिन पैदलयात्रुलाई निक्कै सकस पर्ने गरेको छ । 

गैडाकोट ४ का ३५ वर्षीय नवीन बस्नेतले रातिको समयमा पुल माथी हिड्न निक्कै डर लाग्नेगरेको सुनाए । उनले पुलको छेउछेउ हिड्दा खुट्टा ठोक्किएर एकपटक नारायणी नदिमा झण्डै खसेको दुखेसो पोखे । उनले भने, ‘हरेक दिन रातको अध्याँरोमा पुलमाथी हिड्नुपर्छ, कहिलेकाँही ढुंगा, फलामका टुक्रामा खुट्टा ठोकिन्छ, कपडा अनि बोरामा अल्झिएर लडीन्छ ।’

नविन सवारी चालक हुन । भरतपुर महानगर क्षेत्रमा दिउँसो गाडी चलाएर हरेक दिन साँझ परेपछि उनि आप्mनो कोठा गैडाकोटतर्फ पुलको बाटो हुँदै हिडेर जानुपर्छ । उनले भने, ‘म हरेक दिन हिड्छु, ४, ५ महिना अघिसम्म १, २ वटा बत्ति बल्थ्यो, अहिले कुनै पनि बल्दैन ।’ यस्तै गैडाकोट नगरपालिका २ कि ४९ वर्षीय सारदा कुमालले पनि रातिको समयमा पुलको बाटो हुँदै हिड्न डर लाग्ने गरेको अनुभव सुनाईन । उनले हाइवेमा, भित्री सडकमा, बजार क्षेत्रमा हिड्न समस्या नभए पनि पुल माथी रातको समयमा हिड्न भने निक्कै गाह्रो हुने बताइन ।

उनले भनिन, ‘अध्याँरोमा ठोक्किएर नारायणीमा खसीहाले पनि कसैले देख्दैन ।’ नविन र सारदा प्रतिनीधिमुलक पात्र मात्रै हुन । उनिहरु जस्ता हजारौँ रात्रिकालिन पैदल यात्रुको समस्या यस्तै छन । पुलको गैडाकोटतर्फ छेउमा एउटा बत्ति बल्नेगरे पनि रातिको ८ नबज्दै निभ्छ । सामुदायीक सेवा केन्द्रमा पसल सञ्चालन गर्दैआएका सागर कुमार गुप्ताले भने ‘राति ८ नबज्दै बत्ति अफ हुन्छ, कस्ले बाल्छ, कस्ले निभाउछ, केहि थाहा छैन, पुल छेउको सडक बत्ति त रातभरी बाल्दा पनि हुन्थ्यो ।’

पुलको छेउछेउमा फराकिला फलामका तेर्सो ड्ण्डी भएपनि जोकोहि लडीहालेमा नदिमा खस्ने सम्भावना बढी रहन्छ । छेउमा कुनै तारबार नभएकाले धेरैजनाले यस पुलबाट हामफालेर आत्महत्या समेत गरीसकेका छन । सुरक्षाको दृष्टिकोणले यस्तो जोखिमपुर्ण क्षेत्रमा महिनौदेखि सडक बत्ति नबल्दा दुर्घट्नाको संभावना बढाएको छ ।

नारायणी पुलमा हुनसक्ने जोखिम न्युनिकरण तथा रोकथामका लागी नारायणगढतर्फ छेउमा ससस्त्र प्रहरीको क्याम्प पनि राखिएको छ । तर पुलमाथी बत्ति नबल्दा अध्याँरोमा निगरानी गर्न समस्या रहेको ससस्त्र प्रहरी सहायक निरिक्षक इन्द्र गिरीले बताए । घट्ना केहि भइहाले पनि अध्याँरोमा देखिदैन गिरीले भने ‘पुलमाथीको बत्ति बलेको भए संभावित दुर्घट्नाको क्षति कम गर्न सहज हुनेथियो ।’ 

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार नारायणी पुल हुँदै दैनिक १५ हजार भन्दा धेरै सवारी साधान गुड्नेगर्दछ । लामो तथा छोटो दुरीको सवारी साधान चौविसै घण्टा गुडने पुर्वपश्चिम राजमार्गलाई जोडने नारायणी पुलमाथी बत्ति बाल्न सम्बन्धीत निकायको ध्यान पुगेको छैन ।

समस्या समाधानका लागी स्थानिय सरकार गम्भीर  

चितवनको भरतपुर महानगरपालिका र नवलपुरको गैडाकोट नगरपालिकालाई जोडेको पुलमाथि बिग्रेको सडक बत्ति कसले बनाउने भन्ने विषय अन्योलता जस्तै देखिन्छ । पुल दुवै नगरको आधाआधा हिस्सा पर्छ । भरतपुर महानगरपालिकाले समस्या समाधानका लागी काम सुरु गर्ने जनाएको छ । महानगरका प्रमुख रेनु दाहालले सर्वसाधारणले भोगीरहेको यो समस्या समाधानका लागी महानगर गम्भीर रहेको बताइन । अब जतिसक्दो छिटो कदम चाल्ने उनले बताइन ।

उनले सम्बन्धीत पक्षसँग छलफल गरेर अघि बढ्ने प्रतिबद्धता जनाएकी छिन । महानगरका प्रमुख प्रसासकिय अधिकृत प्रेमराज जोसीले पुर्वपश्चिम राजमार्ग भएकाले बत्ती बनाउने काम सडक विभागको मुख्य दायीत्व भएको बताए । उनले भने, ‘सडक विभागको मुख्य दायीत्व हो, तर स्थानिय सरकारको तर्फबाट सर्वसाधारणको समस्यालाई नजरअन्दाज गर्दैनौँ ।’  

गैडाकोट नगरपालिकाका मेयर छत्रराज पौडेलले पनि नारायणी पुलमाथी छिट्टैनै बत्ति बाल्ने बताए । उनले भरतपुर महानगरसँग समन्वय गरेर काम सुरु गर्ने उल्लेख गरे । उनले भने ‘भरतपुर र गैडाकोट नगरपालिका दुवैको अधिकार र दायीत्व बराबरी हो, हामी समन्वय गरेर अघि बढछौँ ।’ 

प्रतिक्रिया दिनुहोस