देवघाटको त्रिकोणात्मक पुल : समितिका पदाधिकारीले नै निर्माणमा अड्काएको आरोप

प्रकाश सिग्देल

विहीबार, ०२ माघ २०७६, १६ : २३
देवघाटको त्रिकोणात्मक पुल : समितिका पदाधिकारीले नै निर्माणमा अड्काएको आरोप

देवघाट । देवघाटमा निर्माण गर्ने भनिएको त्रिकोणात्मक पुल निर्माणको प्रक्रिया अघि बढ्न सकेको छैन । देवघाट क्षेत्र विकास समितिका केही पदाधिकारीमाथि पुल निर्माणको प्रक्रिया अघि बढ्न नदिइएको आरोप लगाइएको छ । 

पुल निर्माणको प्रक्रिया अगाडि बढाउन गण्डकी प्रदेशका पर्यटनमन्त्री विकास लम्सालले गाउँपालिकालाई निर्देशन दिएका छन् । हाल देवघाट वारपार गर्नको लागि बनाइएको झोलुगें पुल जीर्ण भएको र त्यो पुल जुनसुकै बेला पनि भत्कन सक्ने भएकाले अब छिटै तीन जिल्ला जोड्ने गरी त्रिकोणात्मक धार्मिक पर्यटकीय पुल निर्माणको प्रक्रिया अगाडि बढाउन मन्त्री लम्सालले गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर गुरुङलाई निर्देशन दिएका हुन् ।

 गाउँपालिका अध्यक्ष गुरुङले त्रिकोणात्मक पुल निर्माणको सुरुवात् यस अघि देवघाट क्षेत्र बिकास समितिले गरेको बताए । उनले भने, ‘समितिले पुल निर्माण नगर्ने अवस्था सृजना भए गाउँपालिका आफैँले काम थालनी गर्छ ।’  पवित्र तीर्थस्थल देवघाटको कालीगण्डकी र त्रिशूली नदीको संगमस्थलमा चितवन, तनहुँ र नवलपुर जिल्लालाई जोड्ने गरी त्रिकोणात्मक धार्मिक पर्यटकीय पुल निर्माणको प्रक्रिया यसअघिको कार्यसमितिले थालनी गरेको हो । 

देवघाट क्षेत्र विकास समितिका निवर्तमान अध्यक्ष टंकनाथ पौडेलले आफनो कार्यकालमा नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तोक लगाएर त्रिकोणात्मक पुल निर्माणको  अध्ययन गरि डिपिआरको प्रक्रिया अगाडि बढाइएको बताए । हाल पुल निर्माणले गति लिन नसकेको निर्वतमान अध्यक्ष पौडेलको भनाइ छ । 

पौडेलकै कार्यकालमा परामर्शदाता कम्पनीले पुलको डिजाइन गरेर पेश समेत गरेको थियो । पुल निमार्णका लागि माटो परीक्षण समेत भइसकेको थियो । वर्तमान समितिका केही पदाधिकारीबाट पुल निर्माणमा बाधा भइरहेको आफूले जानकारी पाएको पौडेलको भनाइ थियो । स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागले पुल निर्माण गर्न लागेको थियो ।  करिव ४० करोडको हाराहारी खर्च हुने अनुमान गरिएको थियो ।

भारतको ऋषिकेशस्थित गंगानदीमा रामझुला र लक्ष्मणझुला नामको पुल हेर्न ठूलो संख्यामा धार्मिक पर्यटक जाने गरेको र त्यस्तै गरी देवघाटमा पनि पुल हेर्नकै लागि मात्रै भए पनि मानिस आउने गरी पुलको डिजाइन गरिएको पौडेलले बताए । 

देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरनबाबु घिमिरेले पुल निर्माणमा विरोधका आवाजहरु समिति भित्रैबाट आएको सुनाए । तर जसरी भए पनि पुल बनी छाड्ने उनी बताउँछन् । उनले बैठकमा निर्णय नै गरेर यसलाई अगाडि बढाउने तयारी थालेको बताए ।

 

प्रतिक्रिया दिनुहोस