वागमती प्रदेशको नजिर : प्रदेश ५ को राजधानी बुटवल, नाम लुम्बिनी

सफल खबर संवाददाता

मंगलबार, २९ पुस २०७६, १६ : ५८
वागमती प्रदेशको नजिर : प्रदेश ५ को राजधानी बुटवल, नाम लुम्बिनी

बुटवल । ३ नम्बर प्रदेशको नाम र राजधानी फाइनल भइसकेको छ । नाम वागमती र राजधानी हेटौँडा कायम भइसकेको छ । 

प्रदेशसभा गठन भएको झण्डै दुई वर्षसम्म प्रदेशको नाम र राजधानी टुंगो लागेको हो । प्रदेश ३ को नाम र राजधानीको लागि नेकपा नेतृत्वले नै ह्वीप लगाएको थियो ।

यतिसम्मकी नेकपाको नेतृत्व तहले अटेर गरी नाम र राजधानीमा फरक मत दिए पार्टीले कडा कारबाहीसम्म गर्ने चेतावनी दिएको थियो । जसका कारण अत्यधिक मतले ३ नम्बर प्रदेशको नाम र राजधानी फाइनल भएको छ । 

नेकपा सचिवालयले प्रदेश ३ को नाम बागमती र स्थायी राजधानी हेटौंडा कायम गर्न निर्देशन दियो र, प्रदेशसभाबाट त्यही प्रस्ताव सहज रुपमा पास भयो । प्रदेश ३ को नजिरले प्रदेश पाँचलाई सजिलो हुने भएको छ । 

अस्थायी राजधानी हेटौँडालाई नै प्रदेश तीनले स्थायी राजधानी तोकेको छ । जसका कारण प्रदेश पाँचको अस्थायी राजधानी बुटवल नै स्थायी राजधानी हुने लक्षण देखिएको छ । 

प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री वैजनाथ चौधरीले ३ फागुनमा प्रदेश स्थापना दिवस मनाउँदा नाम र स्थायी राजधानीको टुंगो लागिसक्ने बताए । प्रदेश ३ को नजीरलाई टेकेर अस्थायी राजधानी तोकिएको बुटवललाई नै स्थायी राजधानी बनाउनुपर्ने मत बलियो बन्दै गएको छ प्रदेश ५ मा । 

प्रदेशको नाम र राजधानी सिफारिस गर्न गठित विशेष समितिले प्रतिवेदन पनि बुझाइसकेको छ, जसमा नामबारे कुनै विवाद छैन । राजधानीमा भने बुटवल र दाङमध्ये एक हुने उल्लेख छ । 

पदेश पाँचमा बुटवलको विकल्प खोज्नेक्रम कम हुँदै गएको आभाष हुन थालेको छ । मन्त्री चौधरीले भने, ‘स्थायी राजधानी बुटवल नै हुन्छ, यसमा दायाँबायाँ गर्न सम्भव छैन ।’ नामका सन्दर्भमा लुम्बिनीमात्रै सिफारिस गरेकाले त्यसमा दुई मत हुन सक्ने सम्भावना छैन । 

प्रदेशको राजधानी र नामाकरण प्रदेशसभाको दुई तिहाई बहुमतले निर्णय गर्ने संवैधानिक व्यवस्था छ । प्रदेशसभामा सत्तारुढ नेकपाको दुई तिहाई वहुमत पनि छ । 
 

प्रतिक्रिया दिनुहोस