देवघाटमा माघेसंक्रान्तिको तयारी तीव्र

आइतबार, २७ पुस २०७६, ०९ : ३५
देवघाटमा माघेसंक्रान्तिको तयारी तीव्र

चितवन । तनहुँ, चितवन र नवलपरासीको संगमस्थल देवघाटमा माघेसंक्रान्तिको मेलाको तयारी भएको छ ।  देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले गत वर्षहरुमा भन्दा अझै बढी व्यवस्थित र सहज स्नान गर्न सकिने गरी मेला व्यवस्थापन तथा सुरक्षाको काम अघि बढाइएको बताउनुभयो ।

संक्रान्ति मेलालाई व्यवस्थित बनाउन १५ वटा विभिन्न उपसमितिहरु बनाइएको छ । हरेक वर्ष माघेसंक्रान्तिका अवसरमा देवघाटधाममा ठूलो मेला लाग्ने गर्दछ । माघेसंक्रान्ति मेला भर्न नेपालका विभिन्न जिल्लासहित भारतबाट समेत भक्तजन आउने गर्दछन् ।

त्रिशूली र कालीगण्डकी नदीको संगमस्थलमा भक्तजनहरुको घुइँचो लाग्ने हुँदा मेलालाई सुरक्षित र सहज बनाउन हरेक वर्ष चुनौती सामना गर्नुपर्ने क्षेत्र विकास समितिका अध्यक्ष पौडेलले बताउँछन् ।  बनाएर काम अघि बढाइएको छ । मेलामा खानेपानी, विद्युत, यातायात, जलयात्रा, पार्किङ, प्राथमिक उपचारलगायतका विषयमा कुनै पनि गुनासो नआउने गरी तयारी अघि बढेको समितिको भनाइ छ ।

देवघाट दर्शनका लागि रामनगर ठिमुराको बाटो प्रयोग गरेर आँपटारीबाट निस्कने प्रवन्ध मिलाइने छ । काठमाडौं, धादिङ, पोखरा लगायतका क्षेत्रबाट आउने भक्तजनहरुले दासढुंगामा बनेको पक्की पुल तरेर १० मिनेटमा नै नदी संगमस्थलमा आउन सक्ने भएकाले सोही बाटो प्रयोग गर्न देवघाट क्षेत्र विकास समितिले अपिल गरेको छ । क्षेत्र विकास समितिका अध्यक्ष पौडेलले दासढुंगाको पुल प्रयोग गर्दा देवघाटको झोलुङ्गेपुल र डुंगामा चाप कम पर्ने बताउनुभयो  ।