काँग्रेस भित्रको झगडा झन चर्किदै

देउवालाई एक्ल्याउन इतर समुहको साँठगाँठ

सफल खबर संवाददाता

शुक्रबार, १८ पुस २०७६, ०९ : ४८
काँग्रेस भित्रको झगडा झन चर्किदै

काठमाडौं । प्रमुख प्रतिपक्ष काँग्रेसको घर झगडा अझ चर्किने देखिएको छ । एक वर्ष पछि हुने पार्टी महाधिवेशनवाट नेतृत्व हत्याउनकै लागि नेताहरुका बीचमा आन्तरिक संर्घष चर्कदा काँग्रेस भित्रको घर झगडा दिनप्रतिदिन चर्किदै जान थालेको छ ।

घर झगडा चर्किदा सभापति शेरबहादुर देउवा अन्य पक्षका नेताहरुलाई केन्द्रीय समितिमा आफुसँग रहेको बहुमतको उपयोग गरेर पेलेर जाने तयारीमा लागेका छन् । देउवा इतर पक्षका नेतालाई पेल्ने रणनीतिमा लागेपछि संस्थापन इतरका कोइराला परिवार, पौडेल पक्ष, कृष्ण सिटौला पक्ष, प्रकाशमान सिंह, अर्जुन नरसिंह केसी  र रामशरण महत सबै  नेताहरु धुव्रिकृत हुन थालेका छन् ।

यो समुहमा कम्तीमा पनि ५ जना नेताहरु आगामी महाधिवशेनमा सभापति पदका आकांक्षी छन् । देउवा पक्षमा भने उनी आफु मात्रै सभापतिको आकांक्षी छन् । देउवाले आफु इतर पक्षको त्यही ५ जना आकांक्षी भित्र झगडा चर्काईदिएर फेरि एक्लो वृहस्पति बन्ने अभियानमा जुटेका छन् ।

देउवाले यही रणनीति अनुसार पार्टी कब्जाको योजना बनाएपछि इतर पक्षका नेताहरु पनि सामुहिक रुपमा जुट्न थालेका छन् । उनीहरुले आफुहरु मध्येबाट सहमतिका आधारमा एकजना नेता चुन्ने र अन्यले त्याग गर्ने रणनीति अनुसार सभापतिमा फेरि देउवालाई आउन नदिने रणनीति अख्तियार गर्नका लागि छलफल शुरु गरेका छन् ।

सभापति देउवाले ११ पुसमा पौडेल पक्षको बहिष्कारका बीच गरेको निर्णय नसच्चाएसम्म केन्द्रीय समिति बैठकमै सहभागी नुहने निति लिएपछि देउवा अप्ठ्यारोमा परेका छन् । राष्ट्रिय सभा उम्मेदवार चयनका लागि बिहिबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठक पनि पौडेल पक्षका नेताहरुले बहिष्कार गरेका छन् ।

पौडेल पक्षका नेताहरुको बहिष्कारका बीच काँग्रेसले समाजवादीसँग कार्यगत एकता गर्ने र त्यसको जिम्मा पदाधिकारीलाई दिने निर्णय लिएको थियो । पौडेल पक्ष भने देउवाले राष्ट्रिय सभा चुनावमा गर्ने निर्णयको पर्ख र हेरको नीतिमा बस्न खोजेका छन् । उसले देउवाको पार्टीभित्र आफुहरुलाई पेल्ने रणनीतिका विरुद्धमा देशब्यापी अभियान चलाउने तयारी थालेको छ ।

गाँउ तहसम्मै देउवाका विरुद्ध सामुहिक अभियान लिएर पौडेल, कोइराला र सिटौला पक्ष सामुहिक रुपमा अगाडी बढ्न खोजेको छ । देउवाको विकल्पकै रुपमा यो अभियान चल्ने उक्त समुहका नेताहरुको जिकिर छ ।
 

प्रतिक्रिया दिनुहोस