निर्माणाधीन पोखरा विमानस्थल  छ महिना अघि सम्पन्न हुने

रासस

शनिबार, १२ पुस २०७६, २० : १०
निर्माणाधीन पोखरा विमानस्थल  छ महिना अघि सम्पन्न हुने

फाईल फोटो

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले निर्माणाधीन पोखरा अन्तरराष्ट्रिय क्षेत्रीय विमानस्थलको निरीक्षण गर्दै तोकिएकै अवधिभित्र काम सम्पन्न गर्न निर्देशन दिनुभएको छ । 

स्थानीयवासीलाई मर्कामा नपर्ने गरी मुआब्जा वितरण गरिने आज यहाँ आयोजित कार्यक्रममा उहाँले जानकारी दिनुभयो उहाँले भन्नुभयो “ जहाज अवतरणलाई थप सहज बनाउन लागिएको छ ।  ‘ग्लाइड पाथ’का लागि १०४ रोपनी  आवश्यक पर्छ  ।” 

विमानस्थल परियोजना प्रमुख विनेशकुमार मुनाकर्मीले हालसम्म ५४ प्रतिशत काम सम्पन्न भएको जानकारी दिँदै तोकिएको अवधि भन्दा छ महिनाअघि नै आयोजना सम्पन्न हुने जानकारी दिनुभयो । उहाँका अनुसार सन् २०२१ जुलाई १० सम्म निर्माण सम्पन्न हुने बताइएको छ । परियोजनाले सन् २०२० को डिसेम्बरमा सबै काम सम्पन्न भई परीक्षण उडान शुरु गर्ने र जुलाईबाट व्यावसायिक उडान शुरु हुने जनाएको छ ।

धावनमार्ग तयार भएको तथा टर्मिनल भवनको आन्तरिक व्यवस्थापनको काम बाँकी रहेको परियोजनाले जनाएको छ । ह्याङ्गर, एटिसी कम्प्लेक्स भवन, एटिसी कन्ट्रोल टावर र विमानस्थल प्रवेशद्वारको काम जारी रहेको  परियोजना प्रमुख मुनाकर्मीले जानकारी दिनुभयो ।

सन् २०१४ मा नागरिक उड्डयन प्राधिकरण र चीनको सिएमसी इञ्जिनीयरिङ कम्पनीका बीचमा विमानस्थल निर्माणका लागि सम्झौता भएको थियो । सन् २०१७ को जुलाई ११ बाट निर्माणकार्य शुरु भएको विमानस्थलको कूल लागत रु २२ अर्ब रहेको छ । 

प्रतिक्रिया दिनुहोस