रुघाखोकीले स्वास्थ्यचौकीमा बिरामी बढ्दै, गाउँनै थला

रासस

शनिबार, १२ पुस २०७६, १३ : ४०
रुघाखोकीले स्वास्थ्यचौकीमा बिरामी बढ्दै, गाउँनै थला

सिमकोट । हुम्लामा हिउँदको महिना शुरु भएसँगै जिल्लाका सातवटै गाउँपालिकामा रहेका स्वास्थ्यचौकीमा बिरामीको सङ्ख्या बढेका छन् । गत मङ्सिर महिनाको अन्तिम सातामा परेको भारी हिमपातले बिरामीको सङ्ख्या झन बढ्दै गएको छ । 

    सिमकोट गाउँपालिका–२ साविक ठेहे गाउँमा यतिबेला रुघाखोकीका बिरामीको सङ्ख्या बढेको छ । करिब ५०० घरधुरी रहेको सो गाउँमा यतिबेला रुघाखोकीका बिरामीले गाउँ नै थला परेको छ । जिल्लाकै बढी जनसङ्ख्या र ठूलो बस्ती रहेको ठेहेमा यतिबेला एक घरमा दुईदेखि तीन जना बिरामी भएका छन् । 
 
    रुघाखोकीले गाउँ नै थला परेपछि गाउँमै रहेको ठेहे स्वास्थ्यचौकीमा दैनिक ४५ देखि ५० जनासम्म बिरामी उपचारका लागि आउने गरेको अहेव नर भण्डारीले जानकारी दिनुभयो । स्वास्थ्यचौकीमा उपचार गराउन आउने बिरामीमा ज्वरो, टाउको दुख्ने, घाँटी पोल्ने, हातखुट्टा झमझमाउने जस्ता रोगका बिरामी आउने गरेको उहाँले बताउनुभयो । 

    उहाँले भन्नुभयो, “रुघाखोकी सरुवा रोग हो, ठेहेमा घरहरू एकापसमा जोडिएर बनेकाले एकजनालाई लागेको रोग गाउँमै फैलिएको छ ।” अहिले स्वास्थ्यचौकीमा बिरामीको चाप बढी भएकाले जिल्ला अस्पताल सिमकोटबाट ल्याइएको औषधि विरतण गरिएको भण्डारीले जानकारी दिनुभयो । “स्वास्थ्यचौकीमा अहिले औषधि थोरै छ, बिरामीको चाप बढ्दै जाँदा औषधि पनि अभाव हुने देखिएको छ”, उहाँले भन्नुभयो ।

    ठेहे स्वास्थ्यचौकीमा अहिले एक जना अहेव र कार्यालय सहयोगी मात्रै रहेको भण्डारीले जानकारी दिनुभयो । दैनिक ४५ देखि ५० जना बिरामीलाई स्वास्थ्य परीक्षण गर्नुपरेको उहाँले बताउनुभयो । 

    यस्तै जिल्ला अस्पातल हुम्लामा पनि बिरामीको चाप बढ्दै गएको छ । रुघाखोकीका बिरामीले अस्पतालका शय्या भरिभराउ हुने गरेको जिल्ला अस्पतालका चिकित्सतक टसी लामाले जानकारी दिनुभयो । उहाँका अनुसार मौसमी रुघाखोकीले बिरामीको सङ्ख्या बढ्दै गएको छ । जिल्लाका तल्लो क्षेत्रमा रहेका स्वास्थ्यचौकीमा पनि बिरामीको चाप बढेको छ ।  (रासस)
 

प्रतिक्रिया दिनुहोस