नेकपा नेताहरुसँग राष्ट्रपतिले किन भनिन् : ‘म जिम्मेवारीका हिसाबले हजुरआमा हुँ ’

राष्ट्रपतिले शितलनिवासमा बोलेका शब्दहरुको अर्थ र परिणामको खोजीमा नेकपा नेताहरु लागेका छन्

सफल खबर संवाददाता

शुक्रबार, ११ पुस २०७६, १० : ३५
नेकपा नेताहरुसँग राष्ट्रपतिले किन भनिन् : ‘म जिम्मेवारीका हिसाबले हजुरआमा हुँ ’

काठमाडौं । लेखक तथा विश्लेषक सौरभले प्रधानमन्त्री केपी ओली पछिको कार्यकारी भूमिकामा राष्ट्रपति आउने राजनीतिक विश्लेषण गरिरहदा धेरैले कसरी सम्भव छ त्यो ? प्रश्न उनीप्रति नै तेस्र्याएका थिए । उनको एउटै जवाफ हुन्थ्यो–‘म अहिले धेरै भन्न सक्दिन, समयक्रमले नै पुष्टि गर्दै लान्छ ।’

उनको त्यो अभिब्यक्तिको केही समय पछि अर्थात ५ पुसमा नेकपाका १० जना स्थायी समिति सदस्य पार्टी बैठक चल्दै गर्दा राष्ट्रपति निवासमा निम्त्याइए । राष्ट्रपतिले सामाजवादी अर्थतन्त्र बारेमा छलफल गर्न चाहनु भएको छ भन्दै नेताहरुलाई राष्ट्रपति निवासमा निम्त्याइएको थियो । यसरी निम्तो पाउनेमा थिए– सुरेन्द्र पाण्डे, प्रदीप ज्ञवाली, घनश्याम भुसाल, शंकर पोखरेल, वर्षमान पुन, शक्ति बस्नेत, जर्नादन शर्मा, देव गुरुङ, विष्णु रिमाल, देवेन्द्र पौडेल, युवराज खतिवडा र प्रेम दंगाल ।खतिवडा र दंगाल बाहेक अन्य १० नेता नेकपाका प्रभावशाली स्थायी समिति सदस्य हुन् ।

उनीहरुलाई राष्ट्रपतिले सामुहिक रुपमा पार्टी बैठक चल्दै गर्दा किन बोलाइन् ? बोलाएर उनीहरुमध्येबाट मन्त्री भएकालाई मन्त्रालयमा भएका कामका बारेमा किन जिज्ञासा राखिन् ? अनि किन उनले अहिले काम नगरे, कहिले गर्ने भन्ने जसरी निर्देशनात्मक शैलीमा आदेश फर्मान गरिन् ? अहिले नेकपाभित्र यो विषयमा निक्कै बहस शुरु भएको छ ।

सहभागी एक नेताका अनुसार राष्ट्रपतिले जसरी नेताहरुलाई प्रश्न गरिन् र जसरी आफुले निर्देशन दिएजसरी प्रस्तुत भईन् त्यसले राष्ट्रपति सक्रिय हुन खोजेको सन्देश दिएको छ । राष्ट्रपतिले ब्यक्त गरेको भनाई उदधृत गदै सहभागीमध्येका एक स्थायी समिति सदस्यले सफलखवरसँग भने,–‘यहाँ सहभागी हुनु भएको तपाईंहरु मध्ये कति म भन्दा जेठो पनि हुनुहोला, कति म सँगैको हुनुहोला । कोही कान्छो पनि हुनुहोला, तर जिम्मेवारीको हिसाबले म अहिले हजुरआमा जस्तो हुँ । जसरी देश चलेको छ, त्यसमा मेरो चासो रहन्छ र चिन्ता रहन्छ । त्यसैले म सक्रिय भईरहनु पर्ने हुन्छ ।’

लन्च मिटिङ नै गरेकी राष्ट्रपतिले किन म सक्रिय भैरहनु पर्छ भनिन् ? यसले नेकपा नेताहरुलाई झस्काएको छ । ओली पक्षका नेताहरुले यसलाई सामान्य अर्थमा लिनुपर्ने बताएपनि यसभित्रको अन्तर्य निक्कै सम्वेदनशील रहेको पूर्व माओवादी धारका नेताहरु र माधव नेपाल पक्षका नेताहरुले अर्थयाएका छन् ।

प्रधानमन्त्री ओली मृगौला पूनः प्रत्यारोपण गर्ने बेला राष्ट्रपतिले आफुमा प्रधानमन्त्रीको अधिकार अघोषित रुपमा निहित बनाई शक्तिको दुरुपयोग गर्न सक्ने तिर अहिले नेकपा नेताहरु झस्किएका छन् । सम्वैधाानिक हैसियतमा दलविहिन अवस्थामा रहनुपर्ने राष्ट्रपतिले नेकपाका हरेक जसो निर्णय, सरकारका निर्णय र नियुक्तिहरुमा देखाएको चासोले उनी सक्रिय हुन चाहिरहेको पुुष्टि गर्ने नेकपाकै एक स्थायी समिति सदस्यले बताए ।
 

प्रतिक्रिया दिनुहोस