निजगढ विमानस्थल निर्माणका लागि रुख नकाट्न सर्वाेच्चको अन्तरिम आदेश

सफल खबर संवाददाता

आइतबार, ०६ पुस २०७६, १८ : ०७
निजगढ विमानस्थल निर्माणका लागि रुख नकाट्न सर्वाेच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि रुख काट्ने काम तत्काल अगाडि नबढाउन अन्तरिम आदेश जारी गरेको छ ।

आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश कुमार रेग्मीको संयुक्त इजलाशले विमानस्थल निर्माणका क्रममा जंगल फडानी गर्ने काम तत्काल अगाडि नबढाउन अन्तरिम आदेश दिएको हो ।

जंगल फडानीले वातावरणीय असन्तुलन हुने उल्लेख गर्दै विमानस्थलको निर्माण काम रोक्न पूर्व प्रशासकहरु द्वारिकानाथ ढुङ्गेलसहितले दायर गरेको रिटमा अन्तरिम आदेश जारी भएको हो । रिट दायार गर्नेमा  वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, राष्ट्रिय योजना आयोगका पूर्वसदस्य प्रभु बुढाथोकी, रञ्जुहजुर पाँडे र भरत बस्नेतलगायत रहेका छन् । मंसिर १७ गते रीट दर्ता गरिएको थियो ।

यही सम्बन्धमा थप रिट पनि परेको भन्दै सबै रिटहरुलाई एकैसाथ राखेर सुनुवाइ गर्न र रुख काट्ने काम तत्काल अगाडि नबढाउन अन्तरिम आदेश जारी भएको हो । यसअघि अदालतले सरकारको तर्फबाट लिखित जवाफ पेश गर्न आदेश दिएको थियो । यद्यपि सरकारले अझैसम्म पनि अदालतमा लिखित जवाफ पेश गरेको छैन । सरकारको लिखित जवाफ आएपछि अन्य रिटलाई पनि सँगै राखी सुनुवाइ गर्ने गरी हाललाई अन्तरिम आदेश जारी भएको सर्वोच्च अदालतका सञ्चार विज्ञ किशोर पौडेलले जानकारी दिए ।

पौडेलले निजगढको जंगल फडानी नगर्न अन्तरिम आदेश दिँदै मुद्दा 'हेर्दाहेर्दै' मा राखिएको जानकारी दिए । पौडेलका अनुसार यो मुद्दालाई एक महिनाभित्रै अन्तिम टुंगो लगाउने आदेशसमेत भएको छ । 

प्रतिक्रिया दिनुहोस