भीम रावललाई प्रचण्डको जवाफ : ‘धैरै यान्त्रिक पनि नबन्नुस्’

सफल खबर संवाददाता

शुक्रबार, ०४ पुस २०७६, ०८ : ३७
भीम रावललाई प्रचण्डको जवाफ : ‘धैरै यान्त्रिक पनि नबन्नुस्’

काठमाडौं । भीम रावल नेकपामा अहिले निक्कै आलोचक नेताका रुपमा चिनिन्छन् । सरकारमा रह्दा लपक्कै हुने तर सरकारबाहिर रहदा नेतृत्वको चर्काे आलोचना गर्ने नेताका रुपमा चिनिएका रावल जारी नेकपा स्थायी समिति बैठकमा चर्का आलोचकका रुपमा देखा परेका छन् ।

उनले पार्टी अध्यक्षद्दयको राजनीतिक प्रतिवेदनमा टिप्पणी गर्ने क्रममा ३१ वुँदामा रहेर सरकार र पार्टी नेतृत्वको आलोचना गरेका थिए । तर उनको आलोचनाको तारो अध्यक्ष प्रचण्ड भन्दा पनि प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष ओली छन् ।
प्रधानमन्त्री ओलीले राजनीतिक नियुक्ति देखि विदेश भ्रमणसम्ममा आफना गुटका मान्छे खोज्ने र आश्रय दिने गरेको आरोप लगाएका रावलले बुधबार राजपासँग राष्ट्रिय सभा चुनावमा प्रदेश २ मा तालमेल गर्ने गरी भएको सम्झौताको पनि चर्काे आलोचना गरे ।

बिहिवारको पार्टी बैठक शुरु हुन नपाउदै उनले मेरो आफ्ना कुरा केही राख्नु छ भन्दै अध्यक्षको ध्यानाकर्षण गराउँदै बालुवाटारमा भएको राजपासँगको सम्झौताको विरोध गरे । नाकाबन्दीका मुख्य योजनाकार दलसँग सम्झौता गरेको भन्दै रावलले कविता नै वाचन गरेर त्यसको विपक्षमा आफ्ना भनाई राखे । ‘पार्टी स्थायी समिति बैठक चलिरहेको छ, बैठकमा कुनै सामान्य जानकारी सम्म दिइएन, तर बालुवाटारमा नेताहरु पुगेर राजपासँग सम्झौता गर्छन्, यही हो पार्टी विधि ? यो कस्तो पार्टी ?’ बैठकमा रावल कडा भएर प्रस्तुत भए ।

त्यसपछि त बालुवाटार सम्झौताका बेला सहभागी नभएका नेताहरु वामदेव गौतम, माधव नेपाल र युवराज ज्ञवालीले पनि सम्झौता गर्दा पार्टी बैठक चलिरहेका वेला जनकारी गराएको भए उत्तम हुने भन्दै रावलको भनाईलाई साथ दिए । नेताहरु एकपछि अर्काे रुपमा सम्झौता पार्टी मा जानकारी नगराईएको भन्दै कड्किन थालेपछि अध्यक्ष प्रचण्डले बैठकमा हस्तक्षेप गरे । उनले विशेषगरी रावलप्रति लक्षित गदै भने सबै विषयमा यान्त्रिक भएर हुदैन ।

अध्यक्षको भूमिकाको दायरा फराकिलो पनि हुने जवाफ दिए ।‘मलाई पनि यो विषयमा खास जानकारी थिएन, जानकारी भएको भए बैठकमा बताएरै जाने थिए । बैठक चलुन्जेल तपाईहरुसंगै छु म पनि, बैठक स्थगित गरेर जादै गर्दा प्रधानमन्त्रीले बालुवाटार बोलाउनुभयो,’ प्रचण्डको भनाई उदधृत गदै एक स्थायी समिति सदस्यले भने,–‘बालुवाटार पुग्दा राजपा नेताहरु आईसक्नु भएको रहेछ, प्रधानमन्त्रीले मलाई छुट्टै राष्ट्रिय सभा चुनावमा प्रदेश २ मा यसो गर्ने भइयो, भन्नुभयो । मलाई पनि बेठीक लागेन, सहमतिमा सम्झौता भयो । सबै विषयमा यान्त्रिक हुनुहुदैन् । अध्यक्षले केही गर्न पाउदैन, भन्ने पनि नसोच्नुहोला ।’

प्रतिक्रिया दिनुहोस