पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफलाई मृत्युदण्ड

एजेन्सी

मंगलबार, ०१ पुस २०७६, १३ : १८
पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफलाई मृत्युदण्ड

काठमाडौं । देशद्रोहको मुद्धा लागेका पाकिस्तानका पुर्व राष्ट्रपति जनरल परवेज मुसर्रफलाई मृत्युदण्डको सजाय सुनाइएको छ । पाकिस्तानमा रहेको लाहोरको हाईकोर्ट तीन सदस्यीय विशेष बेञ्चले पूर्व राष्ट्रपतिलाई मुसर्रफलाई मृत्युदण्डको सजाय सुनाएको हो ।

मृत्युदण्डको सजाय सुनाएपनि उनी अहिले उपचारका लागि दुबईमा रहेका छन् । मुसरर्फ माथि संविधानको अवहेलना र देशद्रोहका पक्षमा काम गरेको आरोप थियो । केही दिन अघि उनले एक भिडियो जारी गर्दै छानविन आयोगलाई आफू कहाँ आउन र आफ्नो अवस्था हेर्न आग्रह गरेका थिए । आफूमाथि लागेको मुद्धाबारे उनले  ‘मेरो विचारमा यो निराधार छ ।

देशद्रोहको कुरा छाडौं, मैले त यो देशको धेरै सेवा गरेको छु, युद्ध लडेको छु र दश वर्षसम्म देशको सेवा गरेको छु’ भनेका थिए । इस्लामावादको विशेष अदालतले सन् २०१४ मार्च ३१ मा देशद्रोहको एक मुद्दामा पूर्व सैनिक राष्ट्रपति  मुशर्रफलाई अभियुक्त बनाएको थियो । पाकिस्तानको इतिहासमा उनी पहिलो व्यक्ति हुन्, जसमाथि संविधानको अपहेलना गरेको मुद्दा लागेको थियो ।

सन् २०१३ मा भएको चुनावमा जित निकालेपछि पाकिस्तान मुस्लिम लिग (नवाज) सत्तामा आयो । सत्तामा आएपछि नवाज सरिफ नेतृत्वको सरकारले पूर्व सैनिक राष्ट्रपति परवेज मुशर्रफ विरुद्ध संविधानको अपहेलना सम्बन्धी मुद्दा दायर गरेको थियो। मुशर्रफविरुद्ध गम्भीर देश द्रोहको मुद्दामा सुनुवाई गर्ने विशेष अदालतका प्रमुख चार पटक फेरिएका थिए । मुशर्रफ एकपटक मात्रै विशेष अदालत पुगेका थिए । सन् २०१६ मा स्वास्थ्यको कारण देखाउँदै उनी विदेश गएका थिए । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस