प्रचण्डले ल्याउने भए १७ पृष्ठको राजनीतिक प्रतिवेदन

स्थायी समितिमा पेश गर्नु अगाडी प्रधानमन्त्री ओली, वरिष्ठ नेता माधव नेपाल लगायतसँग गरे छलफल

आइतबार, २९ मंसिर २०७६, ०९ : ४४
प्रचण्डले ल्याउने भए १७ पृष्ठको राजनीतिक प्रतिवेदन

काठमाडौं । सत्तारुढ दल नेकपाका अध्यक्ष प्रचण्डले आज आईतबार देखि चल्ने स्थायी समिति बैठकमा १७ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गर्ने भएका छन् । दुई दिन गुप्तबास बसेर प्रचण्डले पार्टीको राजनीतिक प्रतिवेदन तयार पारेका हुन् ।

आफुले तयार पारेको राजनीतिक प्रतिवेदनमा प्रचण्डले पार्टीका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली, वरिष्ठ नेता माधव नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र महासचिव विष्णु पौडेलसँग छलफल गरिसकेका छन् ।

उनले प्रधानमन्त्री ओली र महासचिव पौडेलसँग हिजो साँझ प्रधानमन्त्री निवास बालुवाटारमा र वरिष्ठ नेता नेपाल र प्रवक्ता श्रेष्ठसँग अहिले बिहान आफ्नै निवास खुमलटारमा भेट गरी छलफल गरेका हुन् । उनले आफ्नो प्रतिवेदनमा आगामी तिन महिना देशब्यापी राष्ट्रिय अभियान सञ्चालन गर्ने देखि माघ पहिलो हप्ता केन्द्रीय समिति बैठक बोलाउने सम्मका विषय समेटिएको छ ।

नेकपामा स्थायी समिति एक वर्ष पछि आज बस्न लागेको हो । केन्द्रीय समिति बैठक त झन पार्टी एकता यता बस्न सकेको छैन भन्दा पनि हुन्छ । एक पटक बसेको केन्द्रीय समिति बैठक पनि निर्वाचन आयोगमा दल दर्ताको प्रयोजनका लागि मात्र बसेको थियो ।

आफुले तयार पारेको राजनीतिक प्रतिवेदनलाई विवादरहित बनाउन र सबै पक्षका कुरा समेट्नका लागि प्रचण्डले पार्टी भित्रका विभिन्न शीर्ष नेताहरुसँग छुटाछुटै छलफल गरेर आन्तरिक शक्ति सन्तुलन मिलाउने प्रयास पनि गरेका छन् ।

उनले तयार पारेको प्रतिवेदनमा राष्ट्रिय राजनीतिक, अन्तराष्ट्रिय परिवेश सहितको विश्लेषण सहित पार्टीका यस बीचका कामको संक्षिप्त समिक्षा र आगामी कामको ठोस चित्रण गर्ने प्रयास गरेको उनी निकट नेताहरुको भनाई छ  ।

उनले तीन महिनाभित्र संगठनको सदस्यता नविकरण सक्ने, दुई महिने देशब्यापी राष्ट्रिय अभियान चलाउने सम्मका योजना प्रतिवेदनमा समावेश गरेका छन् । यो प्रतिवेदनलाई अहिले बस्ने सचिवालय बैठकमा पेश गरेर त्यहाँवाट स्थायी समितिमा लैजाने प्रचण्डको तयारी छ ।
 

प्रतिक्रिया दिनुहोस