काँग्रेसमा देउवा–पौडेल विवाद

आसन्न महाधिवेशनबाट पार्टी सभापति बन्ने दुवै नेताको चाहना

एक अर्काका कमजोरीलाई महाधिवेशनमा हतियार बनाउने तयारीको रिर्हसल शुरु

सफल खबर संवाददाता

आइतबार, २९ मंसिर २०७६, ०८ : ५२
आसन्न महाधिवेशनबाट पार्टी सभापति बन्ने दुवै नेताको चाहना

काठमाडौं । प्रमुख प्रतिपक्ष काँग्रेसमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल बीचको रस्साकस्सी टुँगिएको छैन् । बिहिवार केन्द्रीय समिति बैठक बहिष्कार गरेका पौडेल पक्षधरलाई मनाउने देउवाको प्रयास सफल हुन सकेको छैन् । पार्टीभित्रको अन्तरविरोध हल गर्न दुवै पक्षले वार्ता समिति बनाएका छन् । तर त्यो समितिले पनि समस्या समाधानको निक्र्याैल गर्न सकेका छैनन् । देउवा पक्षका उपसभापति विमलेन्द्र निधी, प्रवक्ता विश्वप्रकाश शर्मा र पौडेल पक्षका पूर्व महामन्त्री प्रकाशमान सिंह, दिलेन्द्र वडु र हृदयराम थानी रहेको वार्ता टोली बनेको छ ।

यो टोलीले प्रकाशमान सिंह्को निवास चाक्सीबारीमा हिजो शनिबार छलफल गरेपनि निकास भेटाएको छैन । दुवै पक्ष आ आफना अडानमै छन् । विवादको चूरो विषय पार्टीको आसन्न १४ औं महाधिवेशनको कार्यतालिका ल्याउने की नल्याउने भन्नेमै छ । यसभित्र सभापति शेरवहादुर देउवा र रामचन्द्र पौडेल नै सभापति बन्ने रहरले काम गरिरहेको काँग्रेसका नेताहरु बताउँछन् । ‘कार्यतालिका ल्याउँदा बिग्रने के छ ? नल्याउदा पनि भईहाल्ने के छ ? तर यसभित्र उहाँहरुको (देउवा र पौडेल) को फेरि पार्टी सभापतिमा आफु उठ्ने र त्यो वातावरण आफु अनुकुल बनाउने खेलोमेसो मात्र हो,’ काँग्रेसका एक केन्द्रीय सदस्यले भने ।

विवाद जस्ताको तस्तै रहेपछि आज आईतबार बोलाईएको केन्द्रिय समिति बैठक के होला ? अनिश्चित बनेको छ । बैठक देउवाले आज पनि यथावत राख्न चाहेभने पौडेल पक्षले बहिष्कारकै चेतावनी दिईरहेको छ । पौडेललाई फकाउन सभापति देउवाले निधिलाई बोकेर हिजो बिहान पौडेल निवास बोहोराटार पुगेका थिए । सभापति यसरी नेता पौडेलकै निवासमा पुगेर गरेको आग्रहलाई पनि पौडेलले स्वीकारेका छैनन् । सभापति देउवासँगको छलफलपछि पौडेल पक्षको छुट्टै बैठक महामन्त्री शशांक कोइराला निवास महाराजगन्जमा बसेको थियो ।

त्यही बैठकले महाधिवेशनको कार्यतालिका ल्याउन सभापति देउवा सहमत नभएसम्म बैठकमा सहभागी नहुने निर्णय लिएको हो । ‘संस्थापन पक्ष कार्यतालिका ल्याउन तयार देखिएन, त्यसैले आज (आइतबार) को बैठकमा पनि अनुपस्थित हुने निर्णय भएको छ,’ पौडेल पक्षका एक केन्द्रीय सदस्यले भने ।

काँग्रेसको नियमति समयमा महाधिवशेन भएको भए यही फागुनमा १४ औं महाधिवेशन हुनुपर्ने थियो । तर अब यो समयमा महाधिवशेन भ्याउने अवस्था छैन् । जसकाकारण पार्टी विधानले दिएको एक वर्ष थप गर्न पाउने र संविधानले विशेष परिस्थितीका कारण थप ६ महिना थप गर्न पाउने गरी दिएको अधिकारको प्रयोग गरेर देउवा यो कार्यसमितिको म्याद ढेढ वर्ष थप गर्न चाहिरहेका छन् ।

त्यो अवधीसम्म आफनो आन्तरिक तयारी गरेर देउवाले फेरि पार्टी सभापति ताकेका छन् । पौडेललाई पनि एकपटक सभापति बन्ने रहर छ । उनी पनि उमेरले पाका भएपनि नेतृत्व छोड्न चाहदैनन । दुवै नेताले सभापतिमा फेरि आफंैलाइ अगाडी सार्ने गरी रणनीति बनाउन थालेपछि अहिले यो खालको रस्साकस्सी देखिएको निकट नेताहरुकै भनाई छ ।

समकालीन दौंतरी रहेका देउवा र पौडेलबीच देखिएको विवादका कारण काँग्रेसका भाृत संस्था देखि केन्द्रीय विभागहरु समेत बन्न सकेका छैनन् । एक अर्काका कमजोरीमा खेलेर आगामी महाधिवेशनलाई आफनो पक्षमा पार्ने तयारीका कारण पनि काँग्रेस लथालिंग हुन थालेको छ । पौडेल पक्ष देउवाका कमजोरीलाई मुद्दा बनाएर महाधिवेशनमा जाने योजनामा छ ।

पार्टीलाई तदर्थवादमा चलाएर संगठन ध्वस्त बनाएको आरोप पौडेल पक्षीय नेताहरूले लगाएर त्यसलाई आगामी महाधिवशेनको मुल मुद्दा बनाउने तयारीमा छन् । तर देउवा आफूमाथि लागेको आरोपलाई मुद्दा बनाउन नदिन तीन महिनामा बनाउनु पर्ने  विभाग ४५ महिनापछि भएपनि बनाउने, नेविसंघ र तरुण दलको गठन तथा बिस्तार गर्ने एजेन्डा केन्द्रीय कार्यसमिति बैठकवाट पारित गराएर संगठनलाई चलायमान देखाउन चाहिरहेका छन् । आगामी महाधिवेशन लक्षित रणनीतिक स्वार्थका कारण पनि देउवा पौडेल बीच रस्साकस्सी चलिरहेको काँग्रेस नेताहरु बताउछन्  ।
 

प्रतिक्रिया दिनुहोस