पौडेल पक्षलाई पेलेरै जाने काँग्रेस सभापति देउवाको रणनीति

विहीबार, १९ मंसिर २०७६, १० : २५
पौडेल पक्षलाई पेलेरै जाने काँग्रेस सभापति देउवाको रणनीति

काठमाडौं । उपचुनावमा भक्तपुरको प्रदेश सभा र धरान उपमहानगरपालिका जितेपछि निक्कै हौसिएका काँग्रेस सभापति शेरवहादुर देउवा पार्टीभित्र अब रामचन्द्र पौडेल पक्षधरलाई पेलेरै जाने योजनामा लागेका छन् । उनले पार्टीका विभागहरु तत्काल बनाउने योजना बनाएका छन् ।

काँग्रेसमा रामचन्द्र पौडेल पक्षधर नेताहरु तत्काल महाधिवशेनको मिति तोकेर महाधिवेशनको तयारीमा लाग्नु पर्ने पक्षमा छन । तर देउवा महाधिवेशनको मिति तोक्ने भन्दा पनि केन्द्रिय विभागहरु थप गरेर विभागलाई पूर्णता दिएर जाने पक्षमा छन् । २६ मंसिरमा उपचुनावको समिक्षा गर्न बोलाईएको बैठकमा पनि यो विषयले काँग्रेसभित्र प्रवेश पाउने नेताहरुले बताएका छन् ।

काँग्रेसले नियमति रुपमा महाधिवशेन गरेको भए यही फागुन मसान्तसम्म महाधिवशेन गर्नुपथ्र्यो । तर विधानमा भएको सुविधा प्रयोग गरेर देउवा महाधिवशेन अहिले गर्ने पक्षमा छैनन् । विशेष कारण देखाएर १ वर्ष र संविधानले दिएको अतिरिक्त ६ महिनाको समय लिएर महाधिवशेन पछि धकेल्ने योजनामा देउवा छन् । काँग्रेसमा फेरि एकपटक महाधिवशेन कहिले भन्नेमा नेताहरुवीच टकराव देखिने भएको छ । देउवा फेरी पनि पार्टी सभापति दोहोरिन चाहिरहेका छन् ।

काँग्रेसमा सभापतिका लागि देउवा, पौडेल, शेखर कोइराला लगायतले रुची देखाईरहेका छन् । महामन्त्री डा. शशांक पनि सभापतिका दाबेदार छन् ।  देउवा पक्षले पार्टीलाई नयाँ संरचना अनुसारको समायोजनमा लैजाने काम भईरहेको र यो सकएिपछि मात्र महाधिवशेनका विषयमा छलफल गरेर मिति घोषणा गर्नुपर्ने मत राखिरहेका छन् । तर पौडेल पक्षले समायोजन मा देउवा पक्षले ढिलाई गरेर महाधिवशेन लम्ब्याउन खोजेको र आफु अनुकुलको वातावरण निर्माण गरेर मात्र महाधिवशेन गराउन खोजेको आरोप लगाउन थालेका छन् ।

काँग्रेसले नयाँ राज्य संरचना अनुसार पार्टी कमिटीलाई समायोजन गर्न थालेको चार महिना बितिसकेको छ, तर अझै सकिएको छैन् । साउन १७ गतेको केन्द्रीय कार्यसमिति बैठकले राष्ट्रिय सभाका सांसद एवं कानुन व्यवसायी राधेश्याम अधिकारीको नेतृत्वमा रहेको निर्वाचन समितिलाई मंसिर मसान्त सम्ममा समायोजन गरिसक्न जिम्मा दिएको थियो ।

समितिले १ सय ६५ संघीय र ३ सय ३० प्रदेश निर्वाचन क्षेत्रीय कार्यसमितिको समायोजन टुंग्याएको छ । तर ७ सय ४३ पालिका र ६ हजार ७ सय ४३ वडा तहको संरचनाको समायोजन अझै टुंगिन सकेको छैन । देउवा पक्षले भने विभाग गठनको सहमतिमा सकभर पौडेल पक्षलाइ सहमतिमा आउन नचाहेमा पेलेर जाने नीति अवलम्वन गर्ने भएको छ ।

‘भातृ संस्था लथालिंग छ, विभागहरु बनेका छैनन् । सबै पार्टी भित्रको भागवण्डा र आन्तरिक खिचातानीका कारण भईरहेको छ । यसमा पौडेल पक्ष वढी दोषी छन्,’ देउवा पक्षिय एक नेताले भने, –‘अब पनि सहमतिमा नआए सभापति पौडेल पक्षलाई पेलेरै अगाडी जानुहुन्छ ।’