पार्टी कामको कार्ययोजना बनाउँदै नेकपा अध्यक्ष प्रचण्ड

आगामी २३ मंसिरको सचिवालयमा कार्ययोजना प्रस्ताव लगिने, देशैभरि ६ महिने अभियान चलाउने

सफल खबर संवाददाता

विहीबार, १९ मंसिर २०७६, ०८ : ५२
पार्टी कामको कार्ययोजना बनाउँदै  नेकपा अध्यक्ष प्रचण्ड

काठमाडौं । सत्तारुढ दल नेकपाको आगामी पार्टी कार्ययोजना बनाँउदैछन्–अध्यक्ष प्रचण्ड । पार्टी एकताको १८ महिनासम्म पार्टीको ठोस कार्ययोजना नहुँदा र आन्तरिक संगठनात्मक एकतामै फसेको नेकपाले अब भने प्रष्ट कार्ययोजना सहित पार्टी काम अगाडी बढाउने तयारी गरेको छ ।

अध्यक्ष प्रचण्ड अहिले त्यसकै गृहकार्यमा जुटेका छन् । ४ मंसिरको सचिवालय बैठकले प्रचण्डलाई पार्टी हेर्ने गरी कार्यकारी अध्यक्ष र केपी ओलीलाई सरकार हेर्ने गरी प्रष्ट कार्यविभाजन गरेपछि प्रचण्ड पार्टी कामको ठोस प्रस्ताव तयार पार्न जुटेका छन् । प्रचण्डको अध्यक्षतामा हिजो (बुधबार) पार्टी कार्यालय धुम्बाराहीमा बसेको सचिवालय बैठकले आगामी २३ मंसिरको बैठकमा ठोस कार्ययोजना बनाई पार्टीमा छलफल गर्ने निर्णय गरेको छ ।

आगामी सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले त्यस्तो प्रस्ताव तयार पारेर ल्याउने र पार्टीमा छलफल गरी कार्ययोजना अनुसार काम अगाडी बढाइने नेकपाले जनाएको छ । अध्यक्ष प्रचण्डलाई कार्ययोजना प्रस्ताव तयार पार्ने जिम्मा पार्टी सचिवालय बैठकले दिएको छ । मंसिर २३ मा बस्ने सचिवालय बैठकमा प्रचण्डले यस सम्बन्धी प्रस्ताव प्रस्तुत गर्नेछन् । प्रचण्डले पार्टी कामको कार्ययोजनाको ठोस प्रस्ताव ल्याउने छन् ।

उनले आगामी ६ महिना सम्मको योजनालाई समेटेर प्रस्ताव प्रस्तुत गर्नेछन् । पार्टी स्थायी समिति, केन्द्रीय समितिको बैठकको मिति सहित संगठनात्मक क्षेत्रमा बाँकी रहेका एकताका काम र सातवटै प्रदेशमा पार्टी अभियान लैजाने गरी प्रचण्ड अहिले प्रस्ताव तयारीमा जुटेका छन् । उनले आवश्यकताका आधारमा पार्टीका अर्का अध्यक्ष केपी ओली लगायत सचिवालयमा रहेका शीर्ष नेताहरुसँग औपचारिक/अनौपचारिक छलफल समेत गरिरहेका छन् ।

‘२३ मंसिरमा हामी पून पार्टी सचिवालय बैठक बस्छौं, त्यस वैठकमा संगठनात्मक एकीकरणका वाँकी काम, उपनिर्वाचनको औपचारिक समिक्षा, पार्टी कामको समग्र कार्ययोजना, स्थायी समिति र केन्द्रीय समिति बैठक आव्हान लगायतका विषयमा छलफल गछौं,’ प्रवक्ता नारायणकाजी श्रेष्ठ (प्रकाश) ले बताए ।

नेकपाले पार्टी एकता लगत्तै तीन महिनाभित्र संगठनात्मक एकताको काम सक्ने र देशैभर अभियानका कार्यक्रम लैजाने बताएको थियो । तर, एकताको काममै अलमल भएपछि उसले केन्द्रीय अभियान देशब्यापी लैजान सकेको छैन् । एकताको मुल सन्देश, पार्टीको नीति कार्यक्रम र योजनाहरु केन्द्रीय रुपमा बन्न सकेको छैन् ।

पार्टी स्थायी समिति बैठक एक वर्ष देखि र केन्द्रीय समिति १८ महिना यता बस्नै सकेको छैन् । नेताहरुले पार्टीभित्रै आन्तरिक जनवादको अभ्यास गर्न नसकेपछि पार्टी नेता कार्यकर्ताहरु जथाभावी अभिब्यक्ती दिन थालेको पार्टी भित्रै कुरा उठ्न थालेको छ । प्रचण्डले आगामी ६ महिनामा के के गर्ने भन्नेमा केन्द्रीत रहेर कार्ययोजना बनाउन खोजेका हुन् ।

प्रतिक्रिया दिनुहोस