मेडिकल माफियाले मलाई मार्न खोजे : प्रकाश चन्द

उर्गेन तामाङ

सोमबार, ०९ मंसिर २०७६, ११ : ०२
मेडिकल माफियाले मलाई मार्न खोजे : प्रकाश चन्द

चितवन । सरकारद्वारा प्रतिबन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवका छोरा प्रकाश चन्दले आफूलाई मार्ने प्रयास भएको बताएका छन् । सफल खबरसँग कुरा गर्दै प्रकाशले मेडिकल माफियाविरुद्ध आवज उठाउँदा आफूलाई गुण्डा प्रयोग गरी मार्न खोजेको बताएका हुन् । 

चिकित्सा शिक्षा संघर्ष समितिका केन्द्रीय संयोजक प्रकाशले नेशनल मेडिकल कलेजका सञ्चालक बसुरदिन अन्सारीले आफूलाई ज्यान मार्न खोजेको आरोप लगाए । भारतीय गुण्डा प्रयोग गरी आक्रमण गरेको उनको भनाई छ । 

मेडिकल कलेजले सरकारले तोकेकोभन्दा बढी लिएको शुल्क फिर्ताको माग गर्दै आन्दोलनको नेतृत्व गर्दा ज्यानको खतरा भएको प्रकाशले बताए । उनले भने ‘हजारौँ विद्यार्थीको जायज माग उठाउँदा माफियाले टार्गेट बनाए ।’

उनले मेडिकल शिक्षा संघर्ष समितिले उठाएको मुद्दा उत्कर्षमा पुगेकाले अब पार लगाएरै छाड्ने दृढता पनि व्यक्त गरेका छन् । संयोजक प्रकाशले सरकारले तोकेकोभन्दा बढी शुल्क लिएर मेडिकल कलेजहरुले खुलेआम विद्यार्थी र अभिभावक ठगेको बताए । 

उनले मेडिकल माफियाको दादागिरीलाई सरकारले टुलुटुलु हेरेर नालायकीपन प्रदर्शन गरेको आरोप लगाए । विद्यार्थीहरुले कलेजले तोकेकोभन्दा बढी लिएको शुल्क फिर्ताको माग गर्दै विगत ३ महिनादेखि देशभरका विभिन्न मेडिकल कलेजमा चरणबद्ध आन्दोलन गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस