प्रदेश प्रमुखको नियुक्तिमा नेकपाका नेता माधवकुमार नेपालले किन लेखे नोट अफ डिसेन्ट ? यस्तो छ कारण

सफल खबर संवाददाता

सोमबार, ०२ मंसिर २०७६, १२ : ५४
प्रदेश प्रमुखको नियुक्तिमा नेकपाका नेता माधवकुमार नेपालले  किन लेखे नोट अफ डिसेन्ट ? यस्तो छ कारण

काठमाडौँ । सरकारले हालै गरेको सातै वटा प्रदेशका प्रमुखको नियुक्तिमा आफ्ना मान्छे नपरेको भन्दै नेकपाका नेता माधवकुमार नेपालले नोट अफ डिसेन्ट लेखे । फरक विचारलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मान गर्न नसकेको नेता नेपालको आरोप छ ।
कहिले साहित्यकार तथा कहिले राजनीतिकर्मीको नाम दिएर हिँड्ने प्रदीप नेपाललाई प्रदेश प्रमुखमा ल्याउन माधव नेपालले किन त्यति धेरै मरिहत्ते गरेका रहेछन् भन्ने बारेमा आमरुपमा केही जानकारी प्राप्त नभएपनि बुढेसकालमा उनलाई केही न केही पद दिउँ नै भन्ने मनसायले काम गरेको हुन सक्ने देखिन्छ । तर कार्यक्षमता नभएका, सधैँ अरुलाई गाली गर्ने, आफू मात्रै सही ठान्ने पात्रका रुपमा प्रदीप नेपाललाई चिन्नेहरु प्रधानमन्त्री ओलीले उनको नाम नै सुन्न नचाहेको कारण प्रदीप नेपालको नाम आए पनि छलफल नभएको बताइन्छ ।
कानून व्यवसायीका रुपमा परिचित अनेरास्ववियूका पूर्वअध्यक्ष समेत रहेका विश्वकान्त मैनालीलाई पनि माधव नेपाल प्रदेश प्रमुख बनाउन चाहेका थिए । कानूनको व्यक्ति र कहि पनि अवसर नपाएको अर्थमा उनलाई ल्याउन सकिने अवस्था रहन्थ्यो । तर विगतमा उनले केही मुद्दामा खेलेको भूमिका र देखाएको व्यवहारका कारण मैनालीको पक्षमा समेत माहोल नबनेको बताइन्छ ।
प्रदेश प्रमुखको नियुक्तिको विषय पछिल्लो पटक विवादको खास कारण मध्ये एक हो, नेकपा अध्यक्ष समेत रहेका ओलीले फरक विचारलाई देख्नै नसक्नु । राजनीतिक रुपमा इगो राख्ने, विरोधीलाई ठिक पार्छु भन्ने मान्यता राख्ने र सकेसम्म तह नै लगाएर छाड्ने उनको स्वभावले काम गरेको छ । पार्टी एकताको क्रममा भएका सहमति कार्यान्वयन गर्न समेत ओलीले चासो देखाएका छैनन् । सोही कारण उपप्रधानमन्त्री समेत रहेका ईश्वर पोखरेललाई त ओली पक्षका केही कार्यकर्ताले भावी प्रधानमन्त्री समेत भन्न भ्याएका छन् । प्रचण्डलाई केही दिउँला भनेर फकाएपछि भइहाल्यो, अब ईश्वर कणलाई प्रधानमन्त्रीको रुपमा प्रचार गराउनु पर्छ भन्दै प्यूठाने मार्काका पूर्व एमालेहरु प्रचारप्रसारमा लागेका छन् ।
पार्टी एकीकृत भएपनि पार्टीभित्र पूर्वएमाले समूह र पूर्वमाओवादी समूह भनेर कित्ताकाट गर्ने क्रम जारी छ । भक्तपुरमा हुन लागेको उपनिर्वाचनमा पूर्वमाओवादी पक्षलाई उम्मेदवार बनाएको भन्दै सोम मिश्रहरुले गरेको विरोध पनि त्यसैको अभिव्यक्ति हो । पूर्वएमालेका केही नेता तथा कार्यकर्ता यतिखेर आफँै आफैँ पद बाँड्न व्यस्त छन् । उनीहरुले केपी ओलीको असली उत्तराधिकारी नै ईश्वर कण भन्दै हिँडेका छन् । त्यसो त दिएको जिम्मेवारी पूरा नगर्ने, अरुको कुरामात्रै काटेर हिँड्ने स्वभावका ईश्वर पोखरेलका कारण पनि माधव नेपाल बिच्किएको बताइन्छ । पार्टीका अन्य नेताको मूल्य र मान्यता नै नराख्ने स्वभावका कारण ईश्वर पोखरेलाई पूर्वएमालेभित्र कमैले मात्र नेता मानेका छन् ।
रक्षामन्त्रीका रुपमा रहेका ईश्वर, सेनाभित्र विकृति ल्याउन र ठेक्का पट्टा लगाउन मात्रै केन्द्रीत छन् । उनले आफ्ना आसेपासेलाई मात्रे फाइदा हुने काम गरेका छन् । उता ओलीलाई पनि भए नभएको कुरा लगाएर प्यारो बनिरहेनेस्वभावका कारण ईश्वर पोखरेलको कद बढ्ने होइन क्रमशः घट्दै गएको छ । माधव नेपाललाई भित्तासम्मै पु¥याएर पेल्ने काममा ओली, पोखरेललगायत लागेका कारण पनि उनले पटक पटक नोट अफ डिसेन्ट लेख्नुपरेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस