काँग्रेस बैठक : के भयो निर्णय ?

सफल खबर संवाददाता

शनिबार, २३ कार्तिक २०७६, १३ : ३८
काँग्रेस बैठक : के भयो निर्णय ?

फाइल फोटो

काठमाडौं । नेपाली काँग्रेसको पदाधिकारी बैठकले मंसिर १४ गते हुने उपनिर्वाचन र प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा पार्टीको तर्फबाट रणनीति तय गरेको छ । 

शनिबार सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकले एकता र उत्साह साथ चुनावी अभियानमा सम्पूर्ण रुपले केन्द्रित हुने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले बताए । 

शर्माका अनुसार केन्द्रीय नेताहरुको उपस्थितिमा कास्की–२, बाग्लुङ, दाङ र भक्तपुर प्रदेश सभा निर्वाचन क्षेत्रका ठाउँठाउँमा चुनावीसभा गरिने छ। 

यस्तै शनिबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वपक्षीय बैठकमा पार्टीका तर्फबाट राख्ने धारणा तय गरिएको शर्माले जानकारी दिए ।

शर्माका अनुसार यस विषयमा भारतसँग द्वीपक्षीय छलफल गरेर कसरी अघि बढ्ने भन्नेबारे सर्वपक्षीय बैठकमा पार्टीले सुझाव दिनेछ । 
भारतले जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो भू–भागमा समेटेको विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले शनिबार ४ बजे सर्वपक्षीय बैठक बोलाएका छन् ।

प्रतिक्रिया दिनुहोस