भृकुटीमण्डपमा जुत्ताचप्पल एक्स्पो

शनिबार, २३ कार्तिक २०७६, १२ : ११
भृकुटीमण्डपमा जुत्ताचप्पल एक्स्पो

काठमाडौँ । मुलुकको समग्र मागको ६० प्रतिशत जुत्ता स्वदेशी उत्पादनले धानेको छ । आगामी वर्ष ८० प्रतिशत नेपाली जुत्ताले ओगट्ने अपेक्षा लिइएको छ । 
 
जाडो मौसमलाई लक्षित गरी ‘विन्टर फुटवेयर बिजनेस एक्स्पो’ शुरु गरिएको छ । जुत्ताचप्पल उत्पादक तीन उद्योग मिलेर शुक्रबारदेखि आगामी मङ्सिर ५ गतेसम्म भृकुटीमण्डपमा सञ्चालन हुने उक्त एक्स्पोमा बिएफ डियर हिल सुज, रन सुज, शिखर सुजका जुत्ताचप्पल रहेका छन् । एक्स्पोको उद्घाटन गर्दै प्रदेश ३ का आर्थिक मामिला एवं योजनामन्त्री कैलाश ढुङ्गेलले देशको विकासका लागि निजी क्षेत्रको महत्वपूर्ण भूमिका हुनेहुँदा व्यवसायमैत्री वातावरण बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

हरेक वर्ष नेपाली जनताको मागअनुसार जुत्ताको उत्पादन वृद्धि हुँदै गएकामा खुशी व्यक्त गर्दै आफ्नो प्रदेशका कर्मचारीलाई स्वदेशी उत्पादनका लागि प्रेरित गरिने बताउनुभयो । शिखर सुज कम्पनीका अध्यक्ष रामकृष्ण प्रसाईंले उपभोक्तालाई चर्चित ब्राण्डका न्यानो खालका जुत्ता एउटै छानोमुनि सस्तोमा किन्ने सो मेला अभूतपूर्व अवसर हुने बताउनुभयो । उहाँले मेलामा ७० प्रतिशतसम्म छुटमा जुत्ताचप्पल उपलब्ध गराइएको बताउनुभयो ।  

बिएफ डियर हिल सुजका अध्यक्ष होमनाथ उपाध्यायले जाडोमा जुत्ताचप्पल किन्ने उपभोक्तालाई लक्षित गरी मेला आयोजना गरिएको बताउनुभयो । मेलामा विवाहका मौसमलाई लक्षित थरीथरीका पार्टीसुजसमेत उपलब्ध गराइएको छ । मेलामा रु २५० देखिका चप्पल तथा रु ५०० देखि जुत्ता उपलब्ध हुनेछन् । मेलामा पार्टी, स्पोर्टस्, क्याजुअल, स्कुल, कार्यालयका युनिफर्म जुत्ता, महिलाले लगाउने चप्पल, गमबुटलगायत सबै प्रकारका जुत्ताचप्पल छन् ।  (रासस) 

प्रतिक्रिया दिनुहोस