एकादशी मेलामा रक्सी र मासुको जात्रा !

सफल खबर संवाददाता

शुक्रबार, २२ कार्तिक २०७६, २० : २१
एकादशी मेलामा रक्सी र मासुको जात्रा !

प्रकाश सिग्देल
चितवन । हिन्दूहरुको महत्त्वपूर्ण पर्वमध्ये पर्छ ठुला एकादशी । यो दिन हिन्दूहरु ब्रत बस्छन् घरघरको तुलसी श्रृंगारी भगवान बिष्णुसँग बिबाह गराउँछन् । भजनकिर्तनसहित रमाइलो गर्दै तोरन टाँगेर यो एकादशी मनाउँछन् । यस्तै नदी किनारहरुमा यो एकादशीमा मेलानै लाग्ने गर्छ । 

यस्तै एकादशीको मेला हरेक वर्ष गैँडाकोट १३ को सिख्रौली घाट अर्थात मनमोहन स्मृति खेल मैदानमा पनि हुँदै आएको छ ।  स्थानीय युवा क्लबको आयोजनामा हरेक वर्ष एकादशी मेला तथा सांस्कृतिक कार्यक्रममा नाममा यहाँ मेला लाग्छ । तर यो मेला नाम मात्रैको एकादशी मेला राखिएको छ, जहाँ एकादशीका कुनै पनि नियम पालना हुँदैन । 

एकादशी नाम दिइएको मेलामा रक्सी र मासुको जात्रानै हुने गरेको  छ । शुक्रबार हरिबोधनी एकादशीका दिन लागेको मेलामा पनि यस्तै रक्सी र मासुको जात्रा थियो । हिन्दू मान्यताअनुसार एकादशीका दिन माछा मासु त के भात पनि खान हुँदैन भनिन्छ । 

त,  एकादशीमा नदीकिनारमा नुहाउन र मेला हेर्न जाने भक्तजनहरुलाई त्यहाँ मासु पोलेको गन्धले निकै ठूलो असर गरेको थियो । 

हजारौँ भक्तजनहरु आउने धार्मिक हिसावले पनि यस्तो महत्त्वपूर्ण स्थानमा एकादशी मेलाकै दिन यसरी मासु र रंक्सीको जात्रा लगाउनु राम्रो नभएको भक्तजनहरुको भनाई थियो ।

हरिबोधिनी एकादशीका दिन तुलसीसँग भगवान् दामोदर (विष्णुं) को विवाह र विशेष पूजा गरी मनाउने वैदिक परम्परा छ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु यही दिन ब्युँझने भएकाले यो एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ । हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा आराधना गर्दछन् ।

हिन्दुहरुको महत्वपूर्ण पर्वका दिन मेलामानै मासु र रक्सी बिक्री गरिनु उचित नभएको र यसलाई आयोजकले रोक्नुपर्ने भक्तजनहरु बताउँछन् ।

वडा नम्वर १२ का अध्यक्ष थीर बहादुर थनेतले मेला बिगतमा भन्दा धेरै व्यवस्थापन भएको बताउँदै यसका देखिएका कमिकमजोरीहरु आगामी वर्षमा सुधार गरिने बताए । 
उनले रक्सी र मासु नियन्त्रणका लागि आफूहरुले विगतमा पहल गरेको स्मरण गर्दै केही वर्ष रोकिएपनि फेरि रक्सी र मासु बिक्री हुन थालेको बताए । यस्तो मेलामा रक्सी र मासु बिक्री हुनु त्यति उचित नभएको उनको भनाइ छ । 

यो क्षेत्रमा गठित  मुकुन्दशेन मौलाकाली होटल व्यवसायी संघका अध्यक्ष अर्जुन पाण्डेले यहाँ एकादशीमा वर्त बस्ने मात्र नभइ अन्य पनि आउने भएकाले रक्सी र मासु बिक्री गरिएको बताए । उनले आयोजकले रक्सी र मासु बिक्री गर्न नपाइने बताएमा बिक्री नगर्ने समेत जनाए ।

 ध्रुवतारा युवा क्लबका अध्यक्ष रनबहादुर थापाले यहाँ भएका कमिकमजोरी सुधार्दै आगामी वर्षहरुमा मेलालाई थप ब्यवस्थित गरी महोत्सवकै रुपमा विकास गर्ने तयारी गरेको बताए ।  

बिगतमा बुटवल–नारायणगढ जोड्ने सडक सञ्चालनमा नआउँदा यहाँबाट ढुगांमार्फत आवत जावत हुने र एकादशीका दिन चितवनबाट थारु समुदायहरुले डालोमा धान, चामल बोकेर ल्याउने र पहाडबाट मगर समुदायहरुले डोकाभरी सुन्तला लगायतका अन्य पहाडी उत्पादन ल्याई साटासाट गर्ने चलन रहेको स्थानीय अगुवा गोबिन्द प्रसाद कोइरालाले बताए । उनले  यहा रक्सी र मासुको बिक्री गर्न नहुने समेत बताए । 

 नारायणी नदी किनारमा रहेको सो क्षेत्र धार्मिक रुपमा निकै महत्वपूर्ण मानिँदै आएको  छ । 

प्रतिक्रिया दिनुहोस