दराजको खुलेआम ठगी, राज्यको अनुगमन संयन्त्रको रहस्यमय मौनता !

सफल खबर संवाददाता

शुक्रबार, २२ कार्तिक २०७६, ११ : ३०
दराजको खुलेआम ठगी, राज्यको अनुगमन संयन्त्रको रहस्यमय मौनता !

काठमाडौँ । अनलाइनमार्फत किनमेलको सेवा दिने कम्पनी हो ‘दराज अनलाइन’ । त्यही कम्पनीले पछिल्लो समय उपभोक्तमाथि व्यापक ठगी गरेको भन्दै उजुरी आएपनि सरोकारवाला निकाय भने मौन देखिएको छ । 

दराजले विभिन्न बहानामा ठगी गरेको भन्दै उजुरी परेपछि गत जेठमा बाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले दराजको अनुगमन गरेको थियो । त्यतिबेला अनुगमन टोली पुग्दा दराजले व्यवस्थापक नभएको बहाना गर्दै जोगिने प्रयास गरेको थियो । रोचक त के छ भने विभागको टोली कुनै त्रुटि नभेटिएको भन्दै त्यसै फर्किएको थियो । 

स्रोतका अनुसार अनुगमन निकायका अधिकारी आर्थिक प्रलोभनमा परी अनुगमनको नाममा झारा टार्ने काम मात्रै भएको हो । त्यससता विभागले दराजसँग सामान्य कागजात माग्नुबाहेक अरु कुनै कारबाही प्रक्रिया अघि बढाएको छैन । विभागका एक अधिकारी रमेशकाजी श्रेष्ठले उजुरीबारे छानबिन भइरहेको दाबी गर्दै दोषी पाइए कानुनबमोजिम कारबाही गर्ने बताए । 

तर, विभागको कारबाही प्रक्रियामा ढिलाइ हुनुले गम्भीर प्रश्न चिन्ह खडा भएको उपभोक्ता अधिकारवादी बताउँछन् । उनीहरु दराजको प्रसङ्गमा विभागका अधिकारीमाथि पनि छानबिन हुनुपर्ने बताउँछन् । 

यसरी ठग्छ दराजले 
अनलाइन सपिङ कम्पनी ‘दराज अनलाइन’ले उपभोक्ता ठग्ने गरेको विषय नौलो होइन ।  सो कम्पनीले कतै बजार मूल्यभन्दा दोब्बर मूल्यमा त कतै लुकाएर देखाइएभन्दा कमसल सामान बेच्ने र सामान फिर्ता नलैजाने गरेको गुनासो सुनिन्छ । 

भाँडाकुँडा, कपडा, गरगहना, मोबाइलजस्ता सामान बेच्दै आएको उक्त कम्पनीले हेर्नै नदिई आफूले मगाएकोभन्दा कम गुणस्तरको सामानलाई बढी मूल्य समेत लिन गर्छ । यस्तै कमसल सामान बिकाउन भारी छुट दिएजस्तो गरी बजार मूल्यभन्दा बढीमा बिक्री गरेर पनि ठग्ने गर्छ । 

यतिमात्रै नभई उक्त अनलाइनले बिक्री गर्न बाहिरी मानिसलाई पठाउने र पछि सम्पर्कविहीन हुने जस्तो कार्यसमेत गरेको पाइएको छ । यस्तै उपभोक्ताको पैसा फिर्ता नगर्ने अधिकांश उपभोक्ताको गुनासो छ ।

यस्तै बद्नाम हुँदै गर्दा दराज अनलाइनले ११.११ अफर सार्वजनिक गरेको छ । त्यसका लागि उनले विभिन्न स्किम ल्याएको भएपनि त्यो कतिको भरपर्दोे हुने हो भन्नेमा प्रश्न खडा भएको छ । किनकी दराजको विशेषता नै ठग्नको लागि जस्तो भइसकेको एक उपभोक्ता बताउँछन् ।

प्रतिक्रिया दिनुहोस