नारायणगढमा व्यवसायीको मनपरी, ह्वीलचियर गुडाउने बाटोमा सामान

उर्गेन तामाङ

बुधबार, ०६ कार्तिक २०७६, १७ : २९
नारायणगढमा व्यवसायीको मनपरी, ह्वीलचियर गुडाउने बाटोमा सामान

– उर्गेन तामाङ 
चितवन ।
नारायणगढ क्षेत्रका व्यवसायीले फुटपाथ हटाउने भरतपुर महानगरपालिकाको अभियानलाई ठाडो चुनौती दिएका छन् । नारायणगढस्थित पुतली बजार लगायत विभिन्न बजारका अधिकांस व्यवसायीले मानिस हिँड्ने सडकपेटी तथा सवारी साधान गुड्ने सडक नै मिचेर व्यापार गरिरहेको पाइएको छ । 
तिहारका सामग्रीहरु अहिले प्रायः हरेक पसल अगाडि सडक मिचेर राखिएका छन् । सटर बाहिर सडक मिचेर सामाग्री राख्न व्यवसायीबीच प्रतिस्पर्धा नै चलेको देखिन्छ । व्यवस्थित टेन्ट नै टाँगेर तिहारमा सजाइने विभिन्न किसिमका फूल तथा मिठाई लगायतका सामग्रीहरु राखिएको पाइएको हो । 
ह्वीलचियर गुडाउने बाटोमा सामान 
सडक पेटीमा अपांगता भएका व्यक्तिहरुलाई ह्वीलचियरमा हिँड्नका लागि बनाइएको बाटो समेत अवरोध गरी व्यापार व्यवसाय गरिरहेका छन् । किनमेलका लागि सर्वसाधारणको भिड हुने चाडपर्वको समयमा व्यवसायीले सडकपेटी र सडक नै मिचेर सामान फिँजाएपछि हिँडडुलमा समस्या परेको सर्वसाधारणको गुनासो छ । पश्चिम चितवनबाट किनमेलका लागि बजार आएका रमेश शर्माले भने, ‘ह्वीलचियर गुडाउने ठाउँ त मिचेका छन्, सर्वसाधारण र सडकको के कुरा गर्नु खै ?’ 


महानगरको चेतावनी 
सडक मिचेर राखिएका सामग्रीहरु हटाउन महानगरले अल्टिमेटम दिएको छ । महानगरका बजार अनुगमन समितिका संयोजक अनुज घिमिरेले भोलि बिहान पनि सटर बाहिर सामान राखेको पाइए कारबाही गर्ने बताए । उनले भने, ‘हामीले व्यवसायीलाई एक पटकका लागि अन्तिम मौका दिएका छौँ । नियम नमान्नेलाई महानगरले सामान जफत गरी नियम अनुसार कारबाही गर्छ ।’ 
नगर प्रहरीले बजारमा सटर बाहिर सामान नराख्न आग्रह गर्दै अटेर गरे कारबाही गर्ने चेतावनीसहित माईकिङ समेत गरिरहेको छ । यस्तै महानगरका अनुगमन अधिकारीहरु र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका अधिकारीहरुले पसल पसलमा पुगेर पसल बाहिर सामान नराख्न सचेत गराएका छन् । 
चाडपर्वको समयमा सटर बाहिर पनि व्यवसाय गर्न पाउनु पर्ने बताउने व्यवसायीहरुले भोलिदेखि सबै सामान हटाउने बताएका छन् । गोरखनाथ किराना पसलका प्रोपाईटर सुजन पनेरुले चाडपर्वको समयमा अन्य व्यवसायीले सामान बाहिर निकालेपछि आफुुले पनि निकालेको बताउँदै अब कहिल्यै ननिकाल्ने बताए । 
अर्का व्यवसायी राजकुमार श्रेष्ठ पहिले नै आफुहरुलाई महानगरले जानकारी गराउनु पर्ने बताउँछन । महानगरले यसरी फुटपाथमा व्यापार व्यवसाय गर्न रोक लगाएको यो पहिलो भने होइन । यसअघि फुटपाथ व्यवसायमा कडाई गर्नुका साथै व्यवसायीलाई पटक पटक सचेत गराउँदै आएको छ । 

प्रतिक्रिया दिनुहोस