काम गरेको पैसा माग्न गएका इलेक्ट्रिशियनमाथि सिंह छाडिदिएपछि...

एजेन्सी

शनिबार, ०२ कार्तिक २०७६, ११ : २५
काम गरेको पैसा माग्न गएका इलेक्ट्रिशियनमाथि सिंह छाडिदिएपछि...

एजेन्सी । पाकिस्तानमा एक जना व्यक्तिले घरमा आएका इलेक्ट्रिशियनमाथि सिंह छाडिदिएका छन् । इलेक्ट्रिशियन आफूले लिनु पर्ने रकम माग्न ती व्यक्तिको घर गएका थिए । 
एक महिना पहिले भएको यो घटना भर्खरैमात्र बाहिर आएको हो । घटना सार्वजनिक भएपछि प्रहरीले आरोपीलाई गिरफ्तार गरेको छ । 

घटना एक महिना अघि भएको भए पनि आरोपी र पीडितबीच एक सहमतिले गर्दा प्रहरीकहाँ उजुरी पुगेको थिएन । तर जब आरोपीले सहमति अनुरुप घाइते भएका इलेक्ट्रिसियनको उपचार खर्च तिर्ने वाचाबाट पछि हटे घटना प्रहरीकहाँ पुग्यो । 
यो घटना पाकिस्तानको पञ्जाब प्रान्तको शहादरा क्षेत्रमा भएको हो । आरोपी व्यक्ति एक धार्मिकस्थलमा ‘केयरटेकर’को काम गर्छन् । 

खबर अनुसार, आरोपीले पिडित इलेक्ट्रिशियनसँग केही काम गराएका थिए । तर काम सकिएपछि पनि पटकपटक भन्दा पनि उनले पैसा दिइरहेका थिएनन् । 
जब पिडित आफ्नो बाँकी रहकम लिन आरोपीकहाँ पुगे तब दुईबीच झगडा भयो । आरोपीले रिसको झोकमा आफ्नो घरमा पालेको सिंहलाई छाडिदिए । सिंहको आक्रमणमा परेर इलेक्ट्रिसियन घाइते भए । 

यो घटनापछि आरोपीले पिडितलाई प्रहरीकहाँ उजुरी नगरे आफूले जरिवाना तिर्ने वाचा गरेका थिए । तर एक महिनापछि पनि पिडितले पैसा नपाएपछि उनी प्रहरीकहाँ पुगे ।

प्रतिक्रिया दिनुहोस