यात्रुबाट बढी सवारी भाडा लिने सवारीसाधन कारवाहीमा

आइतबार, २६ असोज २०७६, १६ : ५६
यात्रुबाट बढी सवारी भाडा लिने सवारीसाधन कारवाहीमा

उदयपुर । उदयपुर जिल्लाको सदरमुकाम गाईघाट बजारबाट राजधानी काठमाडौँका लागि सञ्चालन हुने बस र र सुमोसहित सातवटा सवारीका साधनले यात्रुबाट महँगो सवारी भाडा लिएर ठगि गरेको कारण यी सवारीका साधनलाई ट्राफिक प्रहरी कार्यालय उदयपुरले पक्राउ गरी कारवाही शुरु गरेको छ ।

दशैँको समयमा यातायात व्यवसायी स्थानीय प्रहरी प्रशासनसहित बसेर निर्धारण गरेको भाडादरभन्दा दोब्बर महँगो भाडा लिएर यात्रु ठग्ने सातवटा सवारीसाधनलाई पक्राउ गरेर कारवाही शुरु गरिएको ट्राफिक प्रहरी कार्यालय उदयपुर गाईघाटका प्रमुख दिनेश चौधरीले बताउनुभयो ।

यसरी कारवाहीमा पर्ने ठूला सवारीसाधन बसमा गाईघाट– काठमाडौँ सञ्चालन हुने बस बा४घ ४८४८, बा४ख १९२६, बा२ख ९१८८ र बा५ख ५७४५ नम्बरका बस रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरले बताएको छ ।

गाईघाट काठमाडौँ प्रतियात्रु सवारी भाडा ८०० निर्धारण गरेको भए पनि यी सवारीसाधनका सञ्चालकले प्रतियात्रु रु एक हजार पाँचका दरले टिकट काटेर यात्रु ठगिरहेको रङ्गेहात पक्राउ गरिएको कारण बसका तीनजना स्टाफलाई समेत आजै पक्राउ गरिएको पनि ट्राफिक प्रहरीले बताएको छ । यात्रुबाट ठगेको रु १४ हजार ७०० भने यात्रुलाई नै फिर्ता गराइएको पनि प्रहरीले बताएको छ ।

यस्तै गाईघाट काठमाडाँै सञ्चालन हुने र महँगो सवारी भाडा लिने तीनवटा सुमोलाई पनि पक्राउ गरेर कारवाही शुरु गरिएको ट्राफिक प्रहरीले जनाएको छ । कारवाहीमा परेको सुमोमा ना१ज ६९२०, ना१ज ६२७९ र स१प ४७२ नम्बरका सुमो रहेको छन् । गाईघाट काठमाडौँ प्रतियात्रु रु एक हजार सुमो भाडा निर्धारण गरिएको भए तापनि यी सुमोले प्रतियात्रु रु एक हजार २०० देखि एक हजार ४०० सम्म सवारी भाडा लिएको भेटिएको कारण कारवाही अगाडि बढाइएको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख वीरबहादुर बुढामगरका अनुसार यात्रु ठग्ने सवारी सञ्चालकमाथि ठगी सम्बन्धी मुद्दा चलाउने तयारी भएको प्रहरी प्रमुख बुढामगरले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस