गाडीको ढोकाबाट खसेर एक जनाको मृत्यु, दुई चालक प्रहरी नियन्त्रणमा

शनिबार, २५ असोज २०७६, १८ : २७
गाडीको ढोकाबाट खसेर एक जनाको मृत्यु, दुई चालक प्रहरी नियन्त्रणमा

सुर्खेत । रत्न राजमार्गमा पर्ने सुर्खेतको हर्रेमा आज दिउँसो गाडीबाट खसेर एक जनाको मृत्यु भएको छ । 

मध्यपश्चिम यातायात प्रालिको बा३ख ५२१६ नंको फोर्स गाडीबाट खसेर भेरीगङ्गा नगरपालिका–४ का यमबहादुर खत्रीको घटनास्थलमा नै मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालयका अनुसार मृतक खत्री काँक्रेविहार यातायात प्रालिको ना७ख २०५८ नंको फोर्स गाडीका धनी हुनुहुन्छ । लिफ्ट मागी आउने क्रममा गाडीको ढोकाबाट एक्कासि सडकभन्दा अन्दाजी एक सय मिटर तल खस्न गई उहाँको मृत्यु भएको हो । जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रवि रावलले गाडी चालकलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको बताउनुभयो । 

सुर्खेत प्रहरीले एक अर्का चालकलाई पनि नियन्त्रणमा लिएको छ । यही असोज १९ गते कालीकोटबाट सुर्खेत आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख १०७ नंको फोर्स गाडीले घण्टाघरमा पैदल यात्री वीरेन्द्रनगर–१२ का ५५ वर्षीय हर्कबहादुर रोकायलाई ठक्कर दिएको थियो । गम्भीर घाइते रोकायको लखनऊमा उपचारका क्रममा शुक्रबार मृत्यु भएपछि प्रहरीले उक्त गाडीका चालक दैलेख ठाटीकाँधका २७ वर्षीय मीनबहादुर तिरुवालाई नियन्त्रणमा लिएको हो ।  (रासस)

प्रतिक्रिया दिनुहोस