आयरल्याण्डसँग नेपाल १३ रनले पराजित

एजेन्सी

बुधबार, २२ असोज २०७६, १५ : ०१
आयरल्याण्डसँग नेपाल १३ रनले पराजित

काठमाडौं । बुधबार ओमानमा भएको आयरल्यान्डविरुद्धको खेलमा नेपाल १३ रनले पराजित भएको छ । आयरल्याण्डले दिएको १ सय ४६ रनको लक्ष्य पछ्याएको नेपाल आयरल्याण्डसँग १३ रनले पराजित भएको हो ।

ओमानमा जारी पाँच देश सम्मिलित टी–ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत बुधबार भएको खेलमा नेपाल आयरल्यान्डले दिएको १४६ रनको लक्ष्य पछ्याउने क्रममा १३२ रनमै अलआउट हुन पुग्यो । १० ओभरसम्म एक विकेट मात्र गुमाएर ७३ रन जोड्दा नेपाली समर्थकहरुले जितको आशा गर्न थालेका थिए । तर, लगातार तीन बलमा तीन विकेट गुमाएपछि नेपालको ब्याटिङ धराशयी भयो ।

नेपालका लागि आरिफ शेखले २६, पारस खड्काले २५, इशान पाण्डेले २२, दिपेन्द्रसिंह ऐरीले १९ र करण केसीले १६ रन जोडे पनि जितका लागि पर्याप्त हुन सकेन ।

आयरल्याण्डलाई जिताउन बलिङतर्फ आयरल्याण्डका जर्ज डोकरे र मार्क एडैरले तीन–तीन तथा ग्यारेथ डिलनी दुई विकेट लिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४५ रन जोडेको थियो ।

नेपालले पहिलो खेलमा हङकङ र दोस्रो खेलमा नेदरल्यान्ड्सलाई हराएको थियो । पहिलो खेलमा हङकङलाई हराएको आयरल्यान्ड दोस्रो खेलमा घरेलु टोली ओमानसँग स्तब्ध भएको थियो । तेस्रो खेलमा भने नेदरल्यान्ड्सलाई हराएको थियो ।

प्रतिक्रिया दिनुहोस