Safal Khabar - दसैँ आयो : सहरमा पिङको हाहाकार !
बुधबार, ०६ कार्तिक २०७६ (Wednesday, 23 October, 2019)
दसैँ आयो : सहरमा पिङको हाहाकार !
सोमबार, २० असोज २०७६, १३ : ४३
दसैँ आयो : सहरमा पिङको हाहाकार !

चितवन । 
‘दसैं आयो 
खाउँला पिउँला 
कहाँ पाउँला 
चोरी ल्याउला 
धत्त पापी म त छुट्टै बसुँला !’

कान्छीदेखि बूढी औंलासम्म पालैपालो औंला भाँचेर भन्ने यो उक्ति केटाकेटीदेखि वृद्धवृद्धाको मुखसम्म झुण्डिएको छ । दसैँ नजिकिँदै गर्दा सबैलाई यो उक्तिको एकपटक सम्झना गराउँछ । जतिपटक सुने पनि बासी लाग्दैन यो उक्ति । 

मीठो खाने, राम्रो लाउने, इष्टमित्र परिवारमा भेटघाट गर्ने, ठूलाबडाको हातबाट आशीर्वाद लिने र घरकै दलिनमा भए पनि एकपटक भए पनि धर्ती छोड्न चचहुई–चचहुई गरी पिङ खेल्ने दसैंको विशेषता नै हो । 

जो कोही मानिस पिङमा मच्चिएपछि मुखबाट फ्वात्त फुत्किने शव्द हो–‘चचहुई–चचहुई’ । दसैं नजिकिँदै गर्दा पिङ हाल्ने काम गाउँघर तिर सुरु भइसकेको छ । दसैंको पिङ भनेपछि सबै हुरुक्कै हुन्छन् । दसैंको समयमा त पिङ खेलेर एक पटक धर्ती छोड्नुपर्छ भन्ने मान्यता पनि छ । 

भतरपुर– १२ वसन्तचोकका कमलराज खनालले भने, ‘दसँैमा पिङ त खुब मच्चाइन्छ, दसैँमा नखेलेको पिङ अघिपछि के खेलिन्छ र !’
‘मान्छेहरु पिङजस्तै हाइकिङ खेल्न कहाँकहाँ गएर कति पैसा खर्च गर्छन्, हामीले गाउँघरकै युवा मिलेर थोरै लगानीमा पिङ हालेर किन नखेल्ने ?’ उनले भने, ‘म त भन्छु, प्रत्येक गाउँ या टोलमा पिङ हुनुपर्छ । यो हाम्रो संस्कृति मेटिन हुँदैन ।’  

चारैतिर हिन्दूहरुको महान् चाड दसैंले छोपिसकेको छ । केटाकेटीहरु नयाँ नाना र मीठो खान पाइने आशामा फरुङ्ग भएका छन् । बजारमा चहलपहल बढिरहेको छ । हाम्रो समाजमा कसैलाई दसैँ खर्चको व्यवस्था गर्न दौडधूप छ । कसैले दसैँ खर्च छुट्याइसकेका छन् । कोही ऋण बोकाउन फेरि आयो दसैँ भनिरहेका छन् । कोही दसैँलाई दसा मानेर चुपचाप बसेका छन् । 

चारैतिर भीडभाड देखिन्छ । रेडियो र टेलिभिजनमा मंगलमय मालश्री धुन गुञ्जन थाले । जमराको निम्ति रोपेको मकै र जौको जोहो भइसक्यो । आँगनीको डिलमा कोपिला लागेका मखमली र सयपत्री फूल पनि ढकमक्क भएर फुल्न थालेका छन् । घर–घरमा सुरु भएको छ भवानीको पूजा र आराधना । 

आजकल सहरबजारमा निक्कै कम देखिन्छ पिङ । गाउँघरमा जति पिङ देखिन्छ, त्यति सहरबजारमा देखिँदैन । सहरबजार साँघुरो बन्दै गएका छन् । घरहरु निर्माणको क्रमले खाली जमिन त्यति देखिँदैन । कतै रहेका खाली जमिन पनि प्लटिङमा परिवर्तन भएका छन् । त्यसकारण पनि सहरबजारमा कमै देखिन्छन् पिङ । 

गाउँघरमा भने यसको महत्व बेग्लै छ । साउदी गएको बिर्खे होस् या मलेसिया गएका हर्के अथवा भारतबाट आएको मंगल होस् या सहरमा पढ्न बसेकी रमिता या बिट्रिस लाहुरे रमेश । दसैँ मान्नको लागि सबै जना गाउँ छिरेका छन् । कोही गाउँ छिर्ने सुरसारमा छन् । 

दसैँको पिङ मच्चाउँदा त छुट्टै रौनक मान्छन् युवाहरु । केटाकेटी त दसैँको पिङ भनेपछि त झन् क्रेजी नै हुन्छन् । दिनभरि छोड्दैनन् पिङ । दलिनमा हालेको पिङ भए पनि ‘खुट्टाले दलिन छुनै आँट्यो’ भन्दै पिङ मच्चाउँछन् । यस्तो देख्दा दलिनमा टुक्रुक्क बसेका वृद्धवृद्धाहरु पनि आफ्नो बैंसको दिनलाई सम्झन्छन् र भन्छन ‘कति छिटै जन्मिएछ, पिङ मच्चाउन नसक्ने बेला आयो ।’  
भरतपुुर–१० मा बसेका लमजुङका विनोद भट्टराई पनि यसवर्षको दसैं मान्न उतै जाने भएका छन् । पिङ भनेपछि सात दिन सात रात खेलेको याद छ उनलाई । ‘यसवर्षको दसैँ रमाइलो हुन्छ, घर गएर पिङ खेलेर दसैँ मनाउने हो’ उनले भने । ‘गाउँका साथीहरुलाई बाँसको ठूलो लिङ्गे पिङ हाल्न भनिसकेको छु, विदेश गएका सबै पुराना साथीहरु कोही आइसकेका छन्, कोही आउने सुरसारमा छन् । मलाई त कतिखेर मेरा गाउँ पुगाँैला र पिङ मच्चाउलाजस्तो भएको छ’ उनले थपे, ‘उता चारैतिर चचहुई–चचहुई भइसक्यो होला’

वृन्दाबनमा चराले गीत गाइरहेको बेला भगवान कृष्ण पनि पिङ मच्चाइरहेका हुन्थे रे ! धार्मिक ग्रन्थअनुसार कृष्ण गाई चराउँदा पिङमा राधासँग मस्त हुन्थे रे । पिङमै कृष्णको साथमा राधा पनि लुटुपुटु हन्थिन् रे ! कृष्ण–राधा दिनभर पिङ मच्चाउथ्यें रे । पिङको इतिहास खोज्दै जाने हो भने भगवान कृष्णको पालासम्म पुग्नुपर्ने रहेछ । उनको पालाभन्दा अझ अगाडिबाट पिङको विकास भएको पाइयो । 

दसैंमा हालेको पिङ तिहारसम्म राखिन्छ । दसैंमा राखिने पिङ मनोरञ्जन र रमाइलोको साधन बनेको छ । गाउँ घरतिर पीपल, बकैनालगायतको रुखमा, घरको पालीमा पनि पिङ हाल्ने चलन छ । एउटै ठूलो पीपलको रुखमा ६÷७ वटा पिङ हालेको पनि देखिन्छ । 

बढीमात्रामा केटाकेटी पिङ खेल्न मरिहत्ते गर्छन् । अभिभावकले छोराछोरीलाई उमेरअनुसारको पिङ हाल्छन् । पिङको रस बसेपछि केटाकेटीहरु दसैंका मीठा परिकार खानसमेत भुल्छन् । 
पालीमा हालेको सानो पिङ मच्चाउँदा केटाकेटीहरु ‘खुट्टाले मैले दलिन छोए, तैले छुन सकिनस्’ भन्दै प्रतिस्पर्धासमेत चलाउँछन् । वैज्ञानिक भनाइअनुसार दसैंमा धेरै खाने भएकाले पनि पाचनशक्तिको लागि पिङ खेल्ने चलन सुरु भएको हो । दसैंमा टन्न खाएको चीजलाई सजिलैसँग पचाउन पिङ खेल्नुपर्छ । यसबाहेक आफ्नो संस्कृति जोगाउन पनि त पिङ खेल्नुप¥यो नि !
‘दसैंमा टन्न खाइन्छ, खुबसँग लिङेपिङ मच्चाइन्छ’ शुक्रनगर–९ का विष्णु कँडेलले भने, ‘जवानीमा पिङ नै फर्कने गरी मच्चाइयो, तर अहिले पहिलेको जस्तो मच्चाउन सकिँदैन, तैपनि अरुलाई डर लाग्ने गरी मच्चाउन सक्छु ।’ 

दसैंमा पिङ खेल्न पश्चिम चितवनका विभिन्न ठाउँमा पुग्छन कँडेल । उनी भन्छन्, ‘पिङ भनेपछि नखेली मनै मान्दैन, मैले पिङ मच्चाउँदा कति मानिस त डरले थरर काम्छन् ।’ 
भरतपुर–२५ का कृष्णहरि खनालले पहिलेको तुलनामा अहिले कम मात्रा पिङ बनेको बताउँछन् । ‘पहिले प्रत्येक गाउँमा तीन÷चारवटा पिङ हुन्थे, गाउँका मानिस खेल्नको लागि भीड लाग्थ्यो तर अहिले झगडा र हानाहान हुन्छ भनेर भीडतिर मान्छे जान डराउँछन्’ खनालले भने, दसैँको बेला लिङ्गे, रोटे, र जाँते पिङले भरिभराऊ हुन्थे तर अहिले त्यस्तो छैन, कताकतै मात्र देखिन्छ पिङ । पिङको संस्कृति मेटिदैँ गएको महुसुस भएको छ ।’ 

‘अहिले कतैकतै मात्र पिङ हालेको देखिन्छ । युवा छैनन् । यसलाई संरक्षण गर्न टोलमा रहेका सामाजिक क्लबहरु, टोलसुधार समितिहरु लाग्नुपर्छ, नत्र हामीपछिका पुस्ताले ‘एकादेशमा पिङ थियो रे, दसैँमा खुब खेल्थे रे भन्ने अवस्था आउन सक्छ’ उनले थपे । 

परम्परागत रुपमा पिङ लिङे, रोटे, जाते र लथारे गरी चार प्रकारका भेटिन्छ । हाम्रो यस भेगमा लिङेपिङ बढी हालिन्छ । सबैभन्दा प्रख्यात हो लिङेपिङ । यो पिङ अरुभन्दा बनाउन सजिलो हुन्छ । यसको डोरी बाबियो, सुतरीबाट बनाइन्छ । चारवटा बाँस गाडेर दुई जोडी बनाएर डोरी बाँधेपछि लिंगेपिङ बन्छ । 

काठबाट बनाइने रोटेपिङ गोलोआकारमा घुम्छ । जातेपिङ पनि काठबाट बनेको हुन्छ । विभिन्न रुखहरुमा डोरी बाँधेर बनाइएको पिङलाई लथारे पिङ भनिन्छ । केटाकेटीको लागि यो पिङ साह्रै उपयुक्त हुन्छ । 

पिङ हालेपछि चहलपहल छुट्टै हुन्छ । रौनक बेग्लै हुन्छ ।  कताकतै त्यही रमाइलो पिङ झगडाको प्रमुख कारण बन्न सक्छ ।

प्रतिक्रिया दिनुहोस