भारतलाई अमेरिकाको चेतावनी : क्षेप्यास्त्र खरिद गरेमा भारतमाथि प्रतिबन्ध लगाइन्छ

एजेन्सी

शनिबार, १८ असोज २०७६, १३ : २९
भारतलाई अमेरिकाको चेतावनी : क्षेप्यास्त्र खरिद गरेमा भारतमाथि प्रतिबन्ध लगाइन्छ

फाइल फोटो

नयाँदिल्ली, एजेन्सी । भारतले रुसबाट अत्याधुनिक क्षेप्यास्त्र प्रणाली एस–४०० खरिद गर्ने तयारी गरिरहेकै बेला अमेरिकाले नयाँदिल्लीलाई चेतावनी दिएको छ ।

अमेरिकी अधिकारीहरूले यदि भारतले उक्त क्षेप्यास्त्र प्रणाली खरिद गर्छ भने उमाथि अमेरिकी प्रतिबन्ध लाग्ने खतरा रहेको बताएका छन् । यद्यपि अमेरिकाको भ्रमणमा रहेका भारतका विदेशमन्त्री एस जयशंकरले यो खरिदलाई लिएर अमेरिकालाई मनाउने सकिने बताए । तर अमेरिकी विदेश मन्त्रालयले भारतको एक अखबारलाई इमेलमार्फत यस प्रकारको कुनै पनि कारोबार भारतका लागि कठिनाइ बन्न सक्ने र अमेरिकाले उमाथि प्रतिबन्ध लगाउन सक्ने उल्लेख गरेको छ ।

यो प्रतिबन्धको कारण अमेरिका र भारतबीचको सम्बन्धमा तनाव आउनु नभएर अमेरिकाको विशेष कानुनका कारण हो । उक्त काटसा कानुनको उल्लंघन गर्ने कुनै पनि देशविरुद्ध अमेरिकाको प्रतिबन्ध लागू हुने प्रावधान रहेको छ । यो कानुनले अमेरिकाले आफ्ना विरोधीहरूलाई दबाब बनाइरहेको हुन्छ र यस प्रकारको हतियार कारोबारलाई रोक्ने प्रयास गरेको हुन्छ । अमेरिकाको घोषित विराधी भनेको रुस, इरान र उत्तर कोरिया हुन् ।

रुसको मामिलामा अमेरिकाको यो कानुनले ऊसँग हतियार खरिद–बिक्री गर्न अन्य देशलाई रोक लगाउँछ। सन् २०१७ अगस्ट २ बाट यो कानुन लागू भएको हो । त्यति बेलादेखि नै भारतले रुससँग रक्षा सम्बन्ध, विशेष गर एस–४०० क्षेप्यास्त्र प्रणालीको सम्भावित खरिदमा असर पर्ने अनुमान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस