इमरान खानले संयुक्त राष्ट्रसंघमा भने,– भारतका कारण लाखौं जनता हतियार उठाउन बाध्य हुँदैछन्

एजेन्सी

शनिबार, ११ असोज २०७६, १४ : ००
इमरान खानले संयुक्त राष्ट्रसंघमा भने,– भारतका कारण लाखौं जनता हतियार उठाउन बाध्य हुँदैछन्

न्यूयोर्क । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतले लाखौं जनतालाई विद्रोहका लागि बाध्य पार्न खोजेको बताएका छन् ।
संयुक्त राष्ट्रसंघको विशेष साधारण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री इमरान खानले भारतको चर्को आलोचना गरेका हुन ।

भारतसँग शान्तिका लागि निकै प्रयत्न गरेपनि भारतले भने योजनाबद्ध तरिकाले पाकिस्तान र संसारका लाखौं मुस्लिम जनतालाई भडकाउन खोजेको उनको आरोप थियो ।
४५ मिनेटभन्दा लामो भाषणमा इमरान खानले सत्तारुढ भारतीय जनता पार्टीको सोचाई हिटलर र मुसोलिनोको जस्तो जाति र नश्लवादी सुप्रिमेसीका आधारमा अधिनायकत्व कायम राख्ने भएको समेत बताए ।

आफू प्रधानमन्त्री भइसकेपछि दुबै देशमा गरिबी, जलवायु परिवर्तनलगायत साझा मुद्दा रहेको र भारत तथा पाकिस्तानले मिलेर यसका विरुद्ध लडनुपर्ने भन्दै सन्देश पठाएको उनले बताए ।

“तर भारतले मेरो अपील सुनेन ।” उनले भने, “मैले सोचें, भारतमा चुनावको तयारी छ, त्यसैले यो विषयमा नबोलका होलान । तर उनीहरुको भित्री योजना अर्कै रहेछ । पछि एकजना व्यक्तिले कश्मिरमा आत्मदाह गर्दा त्यसको दोष पाकिस्तानलाई दिएर पुलवामा आक्रमण गर्न लगाइयो ।”

पुलवामामा समेत पक्राउ परेका भारतीय पाइलट अभिनन्दनलाई रिहा गरेर शान्तिको सन्देश दिएको बताउँदै खानले भारतीय नियत नै पाकिस्तानलाई पेल्दै लैजाने देखिएको बताए ।

“अहिले नब्बे लाख व्यक्तिहरु कश्मिरमा प्रतिबन्धको अवस्थामा छन् ।” उनले भने, “म आफै प्रतिबन्धमा रहेको कल्पना गर्छु, भारतीय सेनाले बलात्कार गरिरहेको देख्छु । अत्याचार गरेको देख्छु ।”

कश्मिरको प्रतिबन्ध हटेपछि स्वतन्त्रको पक्षमा जनता सडकमा उत्रिए भने के हुन्छ ? उनले प्रश्न गरे ।

“के कश्मिरमा त्यतिबेला हतियार उठ्दैन ? त्यो बेला भारतका लाखौं मुसलमानहरुले आफ्नै दाजुभाईको अधिकार खोसिएका हेरेर के गर्लान ? अनि विश्वका करोडौं मुस्लिम समुदायले के गर्लान ?” भारतले आफैले दमन गर्ने र त्यसको प्रतिरोध गर्ने सबै कोशिसलाई पाकिस्तानको जिम्मा थोपर्ने गरेको उनको आरोप थियो ।

अन्तर्राष्ट्रिय समुदायले कश्मिरी समस्यालाई गम्भीररुपमा नलिएको उनले बताए ।
अहिले कश्मिरको अवस्था द्वीतिय विश्वयुद्द अघिको जस्तै भएको उनले बताए ।
विश्वका कतिपय नेताहरुले इस्लाम आतंकवादको कुरा उठाएर मुस्लिम समुदायका बारेमा गलत धारणा निर्माण गरेको उनको आरोप थियो । अहिले कश्मिरको समस्यामा अन्तर्राष्ट्रिय समुदायले हस्तक्षेप नगर्ने हो भने भोली ठूलो युद्दको सम्भावना कसैले टार्न नसक्ने उनले बताए ।

“एउटा देशका अगाडि कि लड्नैपर्ने कि समर्पण गर्नैपर्ने बाध्यता आएपछि के गर्छ ?” उनले प्रश्न गरे, “के त्यो बेला आणविक अस्त्र सम्पन्न दुई देशबीच युद्द भएमा के त्यसको असर दुई देशलाई मात्रै पर्छ ?”

भारतले पाकिस्तानलाई किनारामा धकेलेर युद्दका लागि उक्साउन खोजेको र पाकिस्तानले आफ्नो अस्तित्व रक्षाका लागि जुनसुकै कदम चाल्न सक्ने उनले बताए । यो अवस्था आउन नदिन अन्तर्राष्ट्रिय समुदायले हस्तक्षेप गर्नुपर्नेमा जोड दिए ।

“भारतीय सेनाध्यक्षले ५ सय जना विद्रोही लडाकु सीमा क्षेत्रमा कश्मिर आउन लागेको बताएका छन् । तर भारतका ९० हजार सेना त्यहाँ तैनाथ रहेको बेला हामीले ५ सय मात्रै पठाउँछौ र ?” उनले प्रश्न गरे, “प्रधानमन्त्री मोदी आरएसएसको सदस्य हुन, यो संगठनको विचारधारा हिटलर र मुसिलोनी जस्तै साम्प्रदायिक र तानाशाही छ ।”

आतंकवादको कुनै धर्म र जाति नहुने बताउँदै उनले आतंकवादलाई इस्लामसँग जोडेर हेर्न नहुनेमा जोड दिए ।

प्रधानमन्त्री खानले विगतमा सोभियत रुसविरुद्ध लड्न अमेरिकाकै आग्रह र सहयोगमा विद्रोही मुजाहिद्दिन लडाकुहरु उत्पादन गरिएको खुलासा समेत गरे । त्यसपछि तालिबानका विरुद्ध समेत पाकिस्तानले अमेरिकासँग लडेको उनको भनाई थियो । “हिजो आफ्नो स्वार्थका लागि पाकिस्तानको प्रयोग गर्ने, आज त्यही पाकिस्तानी आतंकवादलाई प्रश्रय दिने कसरी हुन्छ ?” उनले प्रश्न गरे ।

सरकारमा गएपछि सबैभन्दा पहिला सुशासनका पक्षमा काम गर्न खोजेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस