इटालियन क्लब इन्टर मिलान एलेक्सिस सान्चेजलाई अनुबन्ध गर्ने अन्तिम तयारीमा

एजेन्सी

बुधबार, ११ भदौ २०७६, ११ : १४
इटालियन क्लब इन्टर मिलान एलेक्सिस सान्चेजलाई अनुबन्ध गर्ने अन्तिम तयारीमा

एजेन्सी । युरोपियन ट्रान्सफर विन्डोको समय सकिनै लाग्दा इटालियन क्लब इन्टर मिलानले म्यानचेस्टर युनाइटेडका स्ट्रईकर एलेक्सिस सान्चेजलाई अनुबन्ध गर्ने अन्तिम तयारीमा पुगेको छ ।

इन्टरले सान्चेजलाई लोनमा अनुबन्ध गर्न लागेको हो । बुधबारनै सान्चेजको मेडिकल परिक्षण गरी अनुबन्ध प्रक्रियालाई पूर्णता दिन इन्टर सहमत भएको छ । युरोपियन खेलाडी ट्रान्सफर विन्डोको समय आउने सोमबार सकिदैछ । एकबर्षे लोनको सम्झौता सकिएपछि सान्चेजलाई युनाइटेडले किन्ने विषयमा भने इन्टरले सहमति जनाएको छैन ।

सान्चेज युनाइटेडमा सर्वाधिक कमाई गर्ने खेलाडी हुन् । उनी त्यहाँ हप्ताको चार लाख पाउन्ड कमाउथे । सान्चेजले सोचेजस्तो खेल्न नसकेको भन्दै युनाइटेडमा उनको आलोचना हुने गरेको थियो । इन्टरमा सान्चेजले हप्ताको एक लाख ५० हजार पाउन्ड मात्र पाउने बताईएको छ ।

चिलीका ३० बर्षीय सान्चेज १९ महिना अगाडी आर्सनल छाडेर युनाईटेड आएका थिए । युनाइटेडमा उनले ४५ खेल खेल्दै पाँच गोल मात्र गरेका छन् । सान्चेजले सन् २०११ देखि २०१४ सम्म स्पेनिस क्लब बार्सिलोनाबाट खेले । त्यसपछि उनी सन् २०१४ देखि २०१८ सम्म आर्सनलमा रहे ।

सान्चेजले अब इन्टरमा युनाइटेडकै सहकर्मी रोमेलु लुकाकुसँग अग्रपंक्ति सम्हाल्ने छन् । लुकाकुलाई इन्टरले हालै ७४ मिलियन पाउन्डमा अनुबन्ध गरेको थियो । लुकाकुले सिरि ‘ए’ मा डेब्यु गर्दै गोल पनि गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस