‘भ्वाइस रेकर्ड’ सार्वजनिक गरेको आरोपमा प्रहरीले रवि पत्नी निकितामाथि छानविन गर्ने

शनिबार, ०७ भदौ २०७६, १४ : ३०
‘भ्वाइस रेकर्ड’ सार्वजनिक गरेको आरोपमा प्रहरीले रवि पत्नी निकितामाथि छानविन गर्ने

चितवन । प्रहरीले रवि लामिछानेकी पत्नी निकिता पौडेलमाथि पनि छानविन गर्ने भएको छ । रवि लामिछानेको ‘भ्वाइस रेकर्ड’ सार्वजनिक गरेको आरोपमा प्रहरी निकितामाथि पनि छानविन गर्ने भएको हो । 

प्रहरीले निकितालाई रविलाई हिरासतमा खाना खुवाउन भनेर गएका बेला  ‘भ्वाइस रेकर्ड’ गरेर सार्वजनिक गरेको आरोप लगाएको छ ।  सार्वजनिक भएको अडियो रेकर्डमा रविले चितवनका एसपी दानबहादुर मल्लले पूर्वाग्रही भएर छानबिन गरेको आरोप लगाएका छन् ।

रविले मृतक पत्रकार पुडासैनीका परिवारलाई मल्लले नै आफूविरुद्ध किटानी जाहेरी दिन लगाएको पनि उल्लेख गरेका छन् । रविको उक्त अडियो युट्युबाट सार्वजनिक भएको हो ।  प्रहरी अनुसन्धानमा रहेका व्यक्तिले प्रहरी, सरकारी वकिल र अदालतमा बयान दिने क्रममा बाहेक सार्वजनिक रुपमा आफूमाथि लागेको अभियोगबारे बोल्न मिल्दैन । गैरकानूनी रुपमा प्रतिबन्धित काम भएको भन्दै प्रहरीले निकितामाथि अनुसन्धान गर्न लागेको हो । 

अनुसन्धान प्रभावित पार्ने नियतले प्रतिबन्धित काम गरेको अभियोगमा छानबिन हुने चितवन प्रहरी स्रोतले जनाएको छ । लामिछाने पत्नी पौडेल केही दिनअघि शालीकराम पुडासैनीले आत्महत्याअघि रेकर्ड गरेको भिडियो सार्वजनिक गरेको आरोपमा चितवनका एसपी मल्ल र जनआस्था साप्ताहिकका सम्पादक एवं प्रेस काउन्सिलका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठविरुद्ध साइबर क्राइम मुद्दा दर्ता गर्न प्रहरीमा गएकी थिइन् । तर, प्रहरीले उजुरी लिन अस्वीकार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस