फेरिए नेकपाको केन्द्रीय कार्यालय सचिव

दुई जना केन्द्रीय सदस्यले पाए केन्द्रीय कार्यालयको तालाचाबी

सफल खबर संवाददाता

मंगलबार, ०३ भदौ २०७६, १२ : २०
फेरिए नेकपाको केन्द्रीय कार्यालय सचिव

काठमाडौं । सत्तारुढ दल नेकपाले पार्टी केन्द्रीय कार्यालय सचिव फेरेको छ । यस अगाडी धुम्बराही कार्यालयको  जिम्मेवारीमा रहेका कृष्ण गोपाल श्रेष्ठ र कोटेश्वर पेरिसडाँडामा रहेको कार्यलयको जिम्मेवारीमा रहेका प्रल्लाद बुढाथोकी दुवैले पार्टीमा नयाँ जिम्मेवारी पाएपछि त्यस ठाउँमा नेकपाले नयाँ कार्यालय सचिव चयन गरेको हो ।

जसअनुसार नेकपाको केन्द्रीय कार्यालयमा अब श्रीराम ढकाल र इश्वरी रिजालले कार्यालय सचिवको रुपमा जिम्मेवारी पाएका छन् । दुवै नेता नेकपाका केन्द्रीय सदस्य हुन् ।

यस अगाडी जिम्मेवारीमा रहेका श्रेष्ठलाई कोष तथा आर्थिक व्यवस्थापन विभागको उपप्रमुख र केन्द्रीय सम्र्पक समन्वय कमिटिको अध्यक्षको जिम्मेवारी पाएका छन् ।

केन्द्रीय कार्यालयको नयाँ जिम्मेवारीमा आएका नेताहरुलाई सोमबार धुम्बाराही कार्यालयमा कार्यभार हस्तान्तरण गरिएको थियो ।

महासचिव विष्णु पौडेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा निवर्तमान कार्यालय सचिवहरुले नयाँ जिम्मेवारीमा आएका नेताहरुलाई जिम्मेवारी हस्तान्तरण गरेको सचिव इश्वरी रिजालले बताए ।

‘हामीले कार्यभार सम्हालेका छौं, महासचिवको उपस्थितीमा यस अगाडी जिम्मेवारीमा रहनु भएका कमरेडहरुले हामीलाई कार्यालयको जिम्मा हस्तान्तरण गर्नुभएको छ,’ रिजालले भने ।

नेकपाको ३१ साउनमा बसेको सचिवालयले नेताहरुको कार्यविभाजन गर्ने क्रममा कार्यालयको जिम्मेवारीमा पनि हेरफेर गरेका हुन् । कार्यालयको जिम्मेवारीमा आएका मध्ये रिजाल पूर्व एमाले र ढकाल पूर्व माओवादी तर्फका नेता हुन् । 

प्रतिक्रिया दिनुहोस