सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप : नेपाल आज किर्गिस्तानसँग भिड्दै

एजेन्सी

सोमबार, ०२ भदौ २०७६, १० : ५२
सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप : नेपाल आज किर्गिस्तानसँग भिड्दै

एजेन्सी । एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिता आज (सोमबार) देखि ललितपुरमा सुरु हुँदैछ । प्रतियोगितको उद्घाटन खेलमा नेपालले बलियो टोली किर्गिस्तानको समना गर्दैछ । लगनखेल स्थित आर्मीको शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रमा हुने प्रतियोगितामा नेपाल र किर्गिस्तानबीचको खेल अपरान्ह ४ः०० बजे  हुनेछ । यसअघि आजै बिहान १०ः०० बजे तुर्कमिनिस्तान र अफगानिस्तानबीच पहिलो खेल हुनेछ ।

शारिरिक रुपमा अग्लो किर्गिस्तान यस प्रतियोगिताको बलियो टोली हो । कीर्तिस्तानलाई हराउन सके नेपाल सेमिफाइनलमा पुग्नेछ । प्रतियोगितामा नेपाल समुह ‘ए’ मा छ । यस समूहमा नेपाल सहित किर्गिस्तान र माल्दिभ्स छ । च्याम्पियनसिप अघि नेपालले अफगानिस्तानसँग खेलेको दुई मैत्रीपूर्ण खेल खेलेको थियो । नेपालले दुवै खेलमा कठिन जित निकालेको थियो । नेदरल्यान्ड्का प्रशिक्षक हान एविङको प्रशिक्षणमा रहेको नेपाली टोलीको लक्ष्य यस प्रतियोगिताको फाइनलमा पुग्ने रहेको छ ।

नेपाली टोली दुई महिनादेखि प्रशिक्षक हानको प्रशिक्षणमा छ । तर, टोलीको समस्य सर्भिस, रिसिभ र ब्लकमा छ । इम रानामगरको कप्तानीमा रहेको नेपाली टोलीमा अहिले युवा खेलाडीको बर्चस्व रहेको छ ।

यसअघि नेपालको पुरुष टोलीले २०७३ सालमा माल्दिभ्समा भएको सेन्ट्रल जोन भलिबलमा कांस्य जितेको थियो । नेपालले ४१ वर्षपछि जितेको यो ऐतिहासिक पदक थियो । जुन नेपाली महिला र पुरुष भलिबल टोलीले एभीसी र अन्तर्राष्ट्रिय भलिबल महासंघबाट मान्यताप्राप्त प्रतियोगितामा जितेको पहिलो पदक पनि हो ।

यसैगरी च्याम्पियनसिपमा समूह ‘बी’ मा साविकको विजेता तुर्कमिनिस्तान, बंगलादेश, उज्वेकिस्तान र अफगानिस्तान छन् । लिगकम नकआउटका आधारमा खेलाईने प्रतियोगितामा समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिताको फाइनल खेल भदौ ७ गते हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस