रवि लामिछानेको विषय संसदमा : सांसद गहतराजले भने, ‘प्रदर्शन अराजक र गैरकानुनी’

सफल खबर संवाददाता

आइतबार, ०१ भदौ २०७६, १८ : ०८
रवि लामिछानेको विषय संसदमा : सांसद गहतराजले भने, ‘प्रदर्शन अराजक र गैरकानुनी’

काठमाडौं । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणको विषय संघीय संसदमा समेत उठेको छ । 
प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधन पछि संसदको शून्य समयमा  सांसद महेश्वरजंग गहतराज रवि लामिछानेको विषय उठाएका थिए । उनले घटनाको निस्पक्ष छानविन गर्न माग समेत गरे ।  उनले रवि लामिछानेको समर्थनमा भइरहेको प्रदर्शनलाई अराजक, गैरकानुनी र अस्वभाविक हुलहुज्जतको संज्ञा दिएका थिए । उनले–‘यही घटनालाई लिएर ‘के निउ पाउँ, कनिका बुकाउँ’ भन्ने उखानसमेत हालेका थिए । उनले रवि लामिछानेको समर्थनमा भएको प्रदर्शन अराजक र गैरकानुनी गतिविधि भइरहेको छ, त्यसको निन्दा र भत्र्सना गर्दछु भने ।

प्रहरीले अनुसन्धान गर्ने र अदालतले दोषी प्रमाणित गर्ने संवैधानिक र कानुनी प्रक्रिया रहे पनि त्यसलाई ठाडो उल्लंघन भएको उनले बताए । सांसद गहतराजले भने, ‘मेरो मान्छे वा मन परेको मान्छे सुन पानीले नुहाएको चोखो हुन्छ, अपराधी हुँदैन’ भन्ने मनोविज्ञानले हाम्रो समाजलाई कता तिर लैजाँदै छ भन्ने आज गम्भीर चिन्ता र चासोको विषय बनेको छ । यस्तै शून्य समयमा बोल्दै सांसद यज्ञराज सुनुवारले मृतक पत्रकार पुडासैनी र अनुसन्धानका लागि नियन्त्रणमा रहेका पत्रकार रवि लामिछानेको समर्थमा छुट्टाछुट्टै प्रदर्शन भइरहेको भन्दै यस घटना बारे सत्यतथ्य छानविन गर्नुपर्ने बताए । 
सांसदहरुले यो प्रकरणमा निश्पक्ष छानबिन गर्न दिनुपर्ने र हुलहुज्जत नगर्न आग्रह गरेका छन् ।

चितवनमा लामिछानेको पक्षमा मात्रै होइन, पुडासैनीको न्यायको लागि पनि  प्रदर्शन भैरहेको छ । स्वतन्त्र युवा समूहले यो प्रकरणमा पुडासैनीले न्याय पाउनुपर्ने भन्दै निश्पक्ष र स्वतन्त्र छानबिन हुनुपर्ने आवाज उठाएका छन् । यो प्रकरणमा राजनीतिक रंग पनि मिसिएको बुझिएको छ । पत्रकार लामिछाने पक्राउको विरोधमा राजनीतिज्ञ विश्लेषकहरुदेखि राजावादीहरुसम्म उत्रिएका स्रोतको भनाइ छ । रविको पक्षमा विरोध तथा जुलुस गर्नेहरुमा केही राजावादीहरु रहेको स्रोत बताउँछ । 

नेपालका लागि नेपाली अभियानका अभियन्ताहरु डा. सुरेन्द्र भण्डारीलगायत ज्ञानेन्द्र शाहीहरु विरोध जुलुसमा सहभागी भएका छन् । स्रोतका अनुसार उक्त जुलुशमा कमला थापा नेतृत्वको राप्रपा र पशुपति शमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपा (संयुक्त) का कार्यकर्ताहरु पनि छन् । 

चितवनमा भएका विभिन्न प्रदर्शनले उग्ररुप लिएपछि हिजो (शुक्रबार) साँझ प्रहरी र प्रदर्शनकारीबीच झडप समेत भएको थियो ।  घटनामा एक जना असईसहित सात जना प्रहरी घाइते भएका थिए । चार जनाको खुट्टा र तीन जनाको हातमा चोट लागेको थियो । जिल्ला अदालत चितवनले रविसहित तीनजनालाई पाँचदिन हिरासत मा राखेर अनुसन्धान गर्ने समय दिएको छ । पुडासैनीले साउन २० गते चितवनमा आत्महत्या गरेका थिए । नुवाकोटका पत्रकार पुडासैनीले आत्महत्या गर्नुअघि रवि लामिछानेसहितका तीनजनाको नाम उल्लेख गर्दै मर्न बाध्य बनाएको भिडियो सार्वजनिक भएको थियो ।
 

प्रतिक्रिया दिनुहोस