काश्मिरमा आंशिकरूपमा टेलिफोन सेवा सुरू

एजेन्सी

शनिबार, ३२ साउन २०७६, १८ : ५०
काश्मिरमा आंशिकरूपमा टेलिफोन सेवा सुरू

श्रीनगर, भारत । भारत प्रशासित काश्मिरमा झण्डै दुई हप्तादेखि बन्द गरिएको फोन सेवालाई आंशिक रूपमा सुरु गरिएको छ ।

काश्मिर उपत्यकामा अहिले अहिले १७ वटा टेलिफोन एक्सचेन्जमार्फत ‘ल्यान्डलाईन’ सेवा मात्र सञ्चालनमा आएका छन् भने जम्मूका पाँच जिल्लामा ‘टुजी’ सेवा सहितको इन्टरनेट सेवा पनि सुरू गरिएको छ । प्रशासनले उक्त क्षेत्रमा विगत १२ दिनदेखि काट्दै आएको सबै टेलिफोन लाईन आइतवार अपरान्ह्बाट पूर्णतया सञ्चालनमा ल्याउने बताएको छ । अगस्ट ५ मा जम्मू–काश्मिरलाई विशेष दर्जा उपलब्ध गराएको अनुच्छे्द ३७० समाप्त गर्ने घोषणा गरिएसँगै सम्पूर्ण सञ्चार सञ्जाललाई काटिएकोे थियो ।

जम्मु काश्मिरका  प्रहरी प्रमुख दिलबाग सिंहले भन्नुभयो, “बिहानैदेखि उपत्यकाका प्रहरी स्टेशन भएका क्षेत्रमा प्रतिबन्धलाई खुकुलो बनाइएको छ । यहाँ विगत केहीदिनदेखि अवरूद्ध केही सञ्चार सेवालाई सञ्चालनमा ल्याइसकिएको छ भने केही आइतबार साँझसम्ममा सञ्चालनमा आउनेछन् ।” सिंहका अनुसार आइतवार साँझबाट संवेदनशील क्षेत्रहरूमा बाहेक सबै ठाउँमा टेलिफोन एक्सेन्जहरूले काम गर्न थाल्नेछन् । (रासस/एएफपी) 

प्रतिक्रिया दिनुहोस