नेकपाका सूर्य थापामाथि कारबाहीको तयारी

सफल खबर संवाददाता

मंगलबार, २८ साउन २०७६, १३ : २२
नेकपाका सूर्य थापामाथि कारबाहीको तयारी

काठमाडौँ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध लगातार सामाजिक सञ्जाल र सार्वजनिक सञ्चार माध्यममा भ्रमपूर्ण प्रचार गरेको भन्दै नेकपा केन्द्रीय सदस्य सूर्य थापामाथि कारबाहीको तयारी गरिएको छ । 

पूर्वमाओवादी पक्षधरले थापामाथि हदैसम्मको कारबाही गर्न नेतृत्वसमक्ष आग्रह गरेको हो । पार्टी एकतायता थापाले प्रचण्डविरुद्ध सामाजिक सञ्जामल फेसबुकमा लेख्दै आएका छन् । पछिल्लोपटक प्रचण्डले राधजानीमा आयोजित एक कार्यक्रममा आफ्नो नेतृत्वमा सञ्चालित १० वर्षे सशस्त्र जनयुद्धका क्रममा ‘कसैको एक लपेटो नखाएको र कसैलाई एक लपेटो पनि नलगाएको’ अभिव्यक्ति दिएकाप्रति थापाले सामाजिक सञ्जालमार्फत कडा टिप्पणी गरेका थिए ।

थापाले लेखेका छन्, ‘आफ्नो यस ६५ वर्ष लामो महान जीवनकालभर कसैको एक लपेटा खाएको र कसैलाई एक लेपेटा खुवाएको छैन । महान जनयुद्धको आदेश, निर्देशन र नेतृत्वचाहिं मेरै हो । जे जति मारिए, ती सबका सब केबल आफ्नो कारणले नै मरे र मारिएको तथ्य हो ।’ थापाले विगतमा महान र हाल परित्याग गरिसकिएको जनयुद्धमा मर्ने र मार्ने महान कार्यको दोषको भारी एकजना मनैदेखिको शान्ति कामीको हैसियतमा सुप्रिम कमाण्डरले मात्र बोक्न कसरी सम्भव हुन्छ रु’, भन्ने प्रश्न गरेका छन् ।

नेकपाका एक नेताले थापाको अराजक र अनुशानहीन प्रवृत्तिबारे पार्टी नेतृत्व जानकार रहेको र उनीमाथि कारबाही हुने बताए । नेकपा निकट युवा संगठनका अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशीखा’ ले थापालाई पार्टी अध्यक्षबारे अनुशानहीन टिप्पणी गरेर पार्टीमा नबस्न चेतावनी दिएका छन् ।

उनले पार्टी केन्द्रीय सदस्यबाट राजीनामा दिन पनि थापालाई सुझाव दिएका छन् । थापामाथि रक्षामन्त्रीसमेत रहेका नेता ईश्वर पोखरेलको उक्साहटमा योजनाबद्ध रुपमा प्रचण्डको तेजोबध गर्न सक्रिय रहेको आरोप पूर्वमाओवादी पक्षधरले लगाएका छन् । थापा नेता पोखरेलनिकट मानिन्छन् । पार्टी एकताका क्रममा तत्कालीन एमाले उप–महासचिव विष्णु पौडेललाई महासचिवमा बढुवा गरेको र आफूलाई घटुवा गरेकामा पोखरेल असन्तुष्ट छन् । प्रचण्डले अर्का अध्यक्ष ओलीकै सहमतिमा पौडेललाई महासचिव प्रस्ताव गरेका थिए ।

प्रतिक्रिया दिनुहोस