वामदेवको ‘बालुवाटार हिमचिम’ : कास्की–२ मा मिल्ला त चान्स ?

सफल खबर संवाददाता

शुक्रबार, २४ साउन २०७६, १६ : ४२
वामदेवको ‘बालुवाटार हिमचिम’ : कास्की–२ मा मिल्ला त चान्स ?

काठमाडौँ । कुनै समय नभनौँ, केही महिना अघिमात्र नेकपाका प्रभावशाली नेता वामदेव गौतम अध्यक्ष अध्यक्ष प्रचण्डको ‘कोर’ टिममा थिए । त्यसैले होला, प्रचण्डको हरेक बोलीको लालोपोतो घस्न सिपालु थिए वामदेव ।

जतिबेला वामदेवको प्रचण्ड निवास खुमलटारमा बाक्लै उपस्थित हुन्थ्यो त्यतिबेला काठमाडौँ ७ मा उनका आँखा गढेको थियो । काठमाडौं ७ का सांसद रामवीर मानन्धरले वामदेवलाई आफ्नो सिट छाडिदिने कागतमा हस्ताक्षरसमेत भएको थियो । जसमा प्रचण्डको पूरा समर्थन थियो । बामदेवलाई काठमाडौँ ७ बाट संसदमा ल्याउने पहलमा लागेका थिए प्रचण्ड, तर प्रधानमन्त्री केपी शर्मा ओलीको दह्रो असहमति रह्यो ।  

प्रधानमन्त्री ओलीको असहमतिपछि वामदेव सांसद बन्ने बाटो बन्द भयो । यसबाट ओलीप्रति वामदेव झन रुष्ट भए र प्रचण्ड खेममा उभिए । स्रोतका अनुुसार बामदेवले माधव नेपाल र प्रचण्डलाई एकै ठाउँमा राखेर उनले ओलीलाई हटाउनु पर्ने प्रस्तावसम्म राख्न भ्याएका थिए ।

माधव र प्रचण्डले यो विषयमा कुनै चासो नदिएपछि बामदेव आफँै व्याक भए । प्रधानमन्त्री ओलीसँग रुष्ट भएका बामदेवको यात्रा अहिले एकाएक यूटर्न भएको छ । उनको खुमलटारभन्दा बालुवाटार आतेजाते अलि बढी नै छ । पछिल्लो एक महिनायता वामदेवको खुमलटार यात्रा निकै पातलिएको छ भने वालुटार यात्रा बाक्लो बनेको छ । तत्कालीन एमालेको नवौँ महाधिवेशनमा ओली खेमामा रहेका बामदेव बीचमा कहीँकतै हराएको  देखिए पनि फेरि ‘आफ्नै घर’ फर्केका उनी निकट एक नेताले बताए । 

ओलीले गौतमलाई बारम्बार बालुवाटारमा निम्तो दिइरहेका छन् भने निम्तो मान्न वामदेव पनि बालुवाटार गइरहेका छन् । दुई नेताबीच लामो भलाकुसारी चल्ने गरेको स्रोत बताउँछ ।  

यसरी बालुवाटारसँग नजिक
पछिल्लो समय वामदेव प्रधानमन्त्री ओलीसँग नजिक भएका छन् । उनी निकटका नेताहरु ‘आफ्नो पूरानो घर’ (ओली निकट) तर्फ फर्कुनु भएका बताइरहेका छन् । बामदेवले अब पोखरा–२ ताकेका छन् जसका कारण उनी वालुवाटारसँग हिमचिम बढाइरहेका छन् ।  

‘प्रधानमन्त्री ओलीको पहलमा नै उहाँ (वामदेव) पटकपटक बालुवाटार गइरहनुभएको छ,’ स्रोतले भन्यो, ‘त्यसैले खुमलटारतिर कम भएको छ ।’ पार्टीको संगठन विभागको प्रमुख गौतमलाई दिन प्रधानमन्त्री ओली सहमत भएपछि उनी वालुटारसँग नजिक हुँदै गएका हुन् । नेकपाका अर्का अध्यक्ष प्रचण्डको प्रस्तावमा नै वामदेव पार्टी संगठन विभाग प्रमुख भएका स्रोतको भनाइ छ । 

गौतमले जनताको बहुदलीय जनवादको पैरवी गर्दै सार्वजनिक लेख नै लेखेपछि बालुवाटार झन नजिक भयो भने खुमलटारको दुरी अलि पर भएको हो कि भन्ने अनुभूति भइरहेको छ । वामदेवले लिखित रूपमै पार्टीको सिद्धान्त जबज हुनु पर्ने लेखेपछि पूर्व माओवादी खेमा झस्केको छ । अहिलेसम्म नेकपाले जनताको जनवादलाई नै तात्कालिक कार्य्दिशा बनाउने निर्णय गरेपछि सचिवालय सदस्यमध्ये जबजबारे खुलेर ईश्वर पोखरेलमात्र बोलिरहेको थिए भने त्यो लाइनमा बामदेव पनि मिसिएका छन् । 

‘वामदेव खुमलटार त्यागेर गएका छन् भन्ने विश्वास छैन, छलफलको लागि कतै जानुहुन्छ भने त्यसलाई अन्यथा मान्नुहुँदैन । खुमलटारसँग उहाँको निकटता कायमै छ’ पूर्व माओवादी एक नेताले भने । उनका अनुसार महाधिवेशनसम्ममा नेकपाभित्र धेरै साटफेर हुन्छ, अहिले नै यो यता र ऊ उता भन्दैमा केही हुँदैन ।

कास्की–२ ताक्दै 
निर्वाचन आयोगले १४ मंसिरमा रिक्त भएका प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका स्थानमा १४ मंसिरमा उपनिर्वाचन गराउन सिफारिस गरेपछि यही मितिलाई मन्त्रिपरिषद्ले अनुमोदन गरिसकेको छ । योसँगै अब विभिन्न स्थानमा चुनावी बहस पनि सुरु हुन थालेको छ । अहिले प्रतिनिधिसभा सदस्य–१, प्रदेशसभा सदस्य–३, नगरपालिका प्रमुख– १, गाउँपालिका अध्यक्ष–३, गाउँपालिका उपाध्यक्ष–१ र वडाध्यक्ष–४१ पद रिक्त छन् ।

कास्की २ बाट निर्वाचित तत्कालीन सांसद् रवीन्द्र अधिकारीको ताप्लेजुङमा पाँच महिनाअघि हेलिकोप्टर दुर्घटनामा निधन भएपछि उक्त निर्वाचन क्षेत्र हाललाई रिक्त छ । बामदेव गौतमले कास्की २ मा रुची देखाउनुभएको एक नेताले बताए । 

अब त्यो निर्वाचन क्षेत्रबाट कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा नेपाल कम्युनिस्ट पार्टीमा औपचारिक छलफल त सुरु भएको छैन तर स्थानीय स्तरमा तथा केन्द्रमा पनि नेताहरुले यस विषयमा चर्चा सुरु गरेका छन् ।  एक नेकपा नेताले भने, ‘ठ्याक्कै पात्र को हुने भन्ने अहिलेसम्म तय भएको छैन तर अब विस्तारै नामहरु आउन थालेका छन् ।’  
अर्का नेता वामदेव गौतमको सम्भावना सबैभन्दा बलियो भएको पनि बताए । ‘यो औपचारिक कुरा त होइन,’ उनले भने, ‘तर, वामदेव कमरेडको नाममा माहोल विस्तारै बनाउन खोजिएको जस्तो लाग्छ ।’

केही नेताहरुले वामदेव गौतमको नाम लिएर उहाँलाई यहाँबाट निर्वाचित गराउनु पर्छ भन्ने भन्न थालेका छन्,’ कास्कीको एक नेताले भने, ‘अब गाइँगुइँ हल्ला चल्न थालेको छ । तर, यहाँ वामदेव गौतम उम्मेदवार भए भने नतिजा उनको पोल्टामा नपर्न सक्छ ।’

यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री समेत रहेका रबीन्द्र अधिकारीको निधनको केही दिनपछि गौतमले एक विज्ञप्ति जारी गर्दै आफू त्यहाँको उम्मेदवार हुन नचाहेको बताएका थिए । अधिकारीको निधनलगत्तै उनले त्यहाँको निर्वाचन क्षेत्रमा दाबी गरेको समाचारहरु बाहिर आएपछि उनले खण्डन गरेका थिए । पछिल्लो समय गौतमले आफू अनुकूल वातावरण बनाउन प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरिरहेका स्रोत बताउँछ । 

यही कारणहरुले गर्दा पनि कास्की निर्वाचन क्षेत्रमा उनलाई उम्मेदवार बनाउने सम्भावना बढेको अर्का नेकपाका केन्द्रीय सदस्य तथा सांसद् बताउँछन् । ‘पछिल्लो समय गौतम कमरेडको चर्चा पनि चल्न थालेको छ,’ उनले भने, ‘पार्टी भित्रै नेताहरु पनि विस्तारै गौतमका लागि सहज वातावरण बनाउन प्रयास गर्न थालेको बुझिन्छ ।’
 

प्रतिक्रिया दिनुहोस