मन्त्रीको पीएको पनि पीए १० वर्षमा करोडपति हुन्छ : नेकपा नेता भुसाल

सफल खबर संवाददाता

सोमबार, २० साउन २०७६, १४ : ३३
मन्त्रीको पीएको पनि पीए १० वर्षमा करोडपति हुन्छ : नेकपा नेता भुसाल

गोरखा । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता घनश्याम भुसालले मन्त्रीको पीएको पनि पीए १० वर्षमा करोडपति हुने गरेको बताउनु भएको छ ।

पार्टी र नेतृत्व दलाल पूँजीवादको चंगुलमा परिरहेको भन्दै उहाँले दलाल पूँजीवाद नै पार्टीको मुख्य लक्ष्यको रुपमा रहेको समाजवादको चुनौतीको रुपमा रहेको बताउनुभयो । नेकपाका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले लेख्नुभएको संघर्षको इतिहास नामक पुस्तकबारे गोरखामा भएको समीक्षा कार्यक्रममा बोल्दै भुसालले देशको सबै क्षेत्रमा दलाल पूँजीपतिहरुको हावी भएको बताउनुभयो ।

यसै कारण पार्टीभित्रका इमान्दार कार्यकर्ताको मनोबल खस्कँदै गएको उहाँको भनाइ छ । ‘बीस वर्षदेखि पार्टीमा काम गरिरहेका कमरेड पनि असुरक्षित लाग्छन् हामीलाई’, उहाँले भन्नुभयो, ‘अरबमा गएर भेडा पनि चराउन नसक्ने भएर फर्किएको मान्छे नेताको पछि लाग्यो, मन्त्रीको पीए को पनि पीए भएर बस्यो, १० वर्षमा करोडपति हुन्छ, तर इमान्दार भएर बिसौं वर्ष पार्टीमा लागेको कार्यकर्ताको मनोबल के हुन्छ रु’

समाजवादबारे थाहै नभएको र कम्युनिष्ट आन्दोलनबारे एक पटक पनि नसुनेको मान्छे पार्टीमा हावी हुँदा इमान्दार कार्यकर्ता पाखा लाग्नुपर्ने अवस्था आएको भुसालले बताउनुभयो ।

नेता भुसालले कम्युनिस्ट पार्टीका नाममा गएको एक सय वर्षपछि नेकपाले अभूतपूर्व सफलता हात पारेको भन्दै नेतृत्वलाई मात्तिने र आत्तिने छुट नभएको बताउनुभयो । गुट उपगुटलाई त्यागेर पार्टीलाई एकताबद्ध गर्नसके अबको १० वर्षमा देशमा समाजवादी व्यवस्थाको झल्को दिनेगरी काम गर्न सकिने उहाँको विश्वास छ ।

त्यसका लागि यही वर्षबाट काम सुरु गर्न पनि उहाँले आग्रह गर्नुभयो । सार्वजनिक शिक्षाको गुणस्तर वृद्धि, स्वास्थ्य सेवामा सुधार र देशमै रोजगारीको अवसर सिर्जना गर्दै समाजवादको बाटोमा अघि बढ्नुपर्ने नेकपाका स्थायी कमिटि सदस्य भुसालको भनाइ छ ।

‘मान्छेले पाएसम्म सार्वजनिक शिक्षा पढ्ने अवस्था बनाइदिऔंँ, जनताको पहुँचभित्र सार्वजनिक शिक्षा होस्’, उहाँले भन्नुभयो, ‘त्यससँगै सार्वजनिक स्वास्थ्यलाई पनि सहज बनाऔंँ र रोजगारीको सिर्जना गर्दै विकल्प दिँदै जान सके १० वर्षभित्रमा हाम्रो समाजवादको दह्रो जग बन्छ ।’

पार्टी एकताको बहसलाई व्यक्तिगत एजेण्डाबाट माथि उठाउनु पर्नेमा पनि उहाँले जोड दिनुभयो । पार्टीका बैठकहरुमा व्यक्तिका एजेण्डाले महत्व पाउने गरेको भन्दै उहाँले पार्टी लाकतान्त्रिक पद्धतिका आधारमा चल्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस